Below Menu
Below Menu

७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ४३ अर्ब

७२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ४३ अर्ब

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४३ अर्बले बढेर ७२ खर्ब नाघेको हो । अघिल्लो दिन अर्थात् असार २४ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थामा ७१खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा ४२ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने एक अर्ब रुपैयाँले बढेर सात खर्ब ५४ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६४ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब निक्षेप थपिँदा दुई अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७६.२३ बिन्दुमा झरेको छ ।
 

Advertisment