गण्डकी : पोखरा अन्तरराष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटल सङ्घ पोखरा नेपालको टोलीले आज अर्थमन्त्री र युएईका राजदूतसँग छुट्टाछुट्टै भेट गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि सङ्घको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडानको पहलका लागि आग्रह गरेको हो ।
भेटमा अर्थमन्त्री पौडेलले पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने बताउनुुभएको होटल सङ्घ नेपालका केन्द्रीय सदस्य एवं होटल सङ्घ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए।
अर्थमन्त्रीले भेटको क्रममा पोखरा नयाँ पुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी गराएका थिए । उक्त मार्गको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षको बजेटमा केही रकम समेत छुटिएको जानकारी मन्त्री पौडेलले गराएका थिए।
भेटमा अर्थमन्त्री पौडेलसँग चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउनसमेत आग्रह गरिएको थियो ।
नारायणगढ–बुटवल सडक र स्तरोन्नतिको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तीव्रता दिन मन्त्री पौडेलसँग सङ्घको टोलीले आग्रह गरेको थियो ।
यसैगरी सङ्घको टोलीले काठमाडौँस्थित संयुक्त अरब इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा–दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
भेटमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाइ दुबईसँग कुरा राख्ने आश्वासन दिनुुभएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए ।
Advertisment