Below Menu
Below Menu

सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 

सरकारी ढुकुटीमा करिब तीन खर्बले बढ्यो नगद मौज्दात, क्यास सर्कुलेशन साढे सात खर्ब 

काठमाडौं : गत आर्थिक वर्षमा बजारमा ७० अर्ब रुपैयाँ भन्दा बढीले नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बजारमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

उक्त रकम अघिल्लो आवको तुलनामा १०.३० प्रतिशत अर्थात ७० अर्ब ६ करोड ३६ लाख रुपैयाँले बढेको हो । गत वर्ष बजारमा यस्तो नगद प्रवाह छ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात दुई खर्ब ९८ अर्ब ६० करोड रुपैयाँले बढेको छ । अघिल्लो असारमा सरकारी खातामा तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ मौज्दात रहेको थियो । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । 

यस अवधिमा सरकारी ढुकुटीमा साढे ७० अर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल ७० अर्ब ८३ करोड ७० लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त यस अवधिमा आइपुग्दा छ अर्ब ८८ करोड ३७ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात शुन्य रहेको छ । असार मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा सात खर्ब ८ अर्ब एक करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ४० अर्ब ९८ करोड ५ लाख रुपैयाँ रहेको छ ।

हालसम्म राष्ट्र बैंकको दायित्व २६ खर्ब ५९ अर्ब १३ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख रुपैयाँ रहेको थियो । 

Advertisment