काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो ।
सो दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई अर्बले घटेको छ । अघिल्लो दिन अर्थात् साउन १० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ७२ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा दुई अर्ब रुपैयाँ निक्षेप घटेको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने सात खर्ब ५३ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६४ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा घटेर ६४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा दुई अर्ब निक्षेप घट्दा तीन अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ भने सिडि रेसियो बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७५.९८ बिन्दुमा झरेको छ ।
Advertisment