Below Menu
Below Menu

राष्ट्रिय कोदो दिवस आज: कोदो खेतीमा अग्रसर हुन कृषि मन्त्री अधिकारीको आग्रह

राष्ट्रिय कोदो दिवस आज: कोदो खेतीमा अग्रसर हुन कृषि मन्त्री अधिकारीको आग्रह

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले कोदो खेतीमा अग्रसर हुन कृषक दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गरेका छन् ।

पहिलो राष्ट्रिय कोदो दिवसका अवसरमा आज बिहान रेडियो नेपालको अन्तर्सँवाद कार्यक्रममा पत्रकार सन्तोष रेग्मीसँग कुराकानी गर्दै मन्त्री अधिकारीले बढ्दो आयातको खाडल कम गर्न र निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताए। सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेबमोजिम आज प्रथम कोदो दिवस मनाउँदै छ ।

मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारणले उत्पन्न सुख्खा तथा खडेरीजस्ता अवस्थामा पनि कोदो उत्पादनमा कुनै असर नपर्ने भएकाले कोदो खेती प्रवद्र्धन गर्न सरकारले कार्यक्रम र बजेटसहित कृषकसंग सहकार्य अघि बढाउने निर्णय गरेको पनि जानकारी दिए। गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट ३ लाखबढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिए।

हरेक वर्ष ५० अर्ब बढी रुपैयाँ धान चामलको आयातमा विदेशिने गरेकोमा यस वर्ष सुख्खाले थप २० प्रतिशत धान उत्पादन घढ्ने भएकाले सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक भएको उनले सुनाए।

मधेश प्रदेशसहित तराई मधेशमा तीनै तहको सरकारको समन्वयमा ५ सयबढी डिप ट्यूबेल जडानको काम शुरु भैसकेको र सिँचाई प्रवन्ध हुन नसक्ने जमिनमा सुख्खामा पनि लगाउन मिल्ने जातका धान खेती गर्न नार्क र सम्पन्धित निकायहरुले प्रक्रिया अघि बढाइसकेको मन्त्री अधिकारीले जानकारी दिए।

कतिपय ठाउँमा रासायनिक मल लिन दिनभर लाइनमा बसेका किसान नपाएर साँझ रित्तै बोरा फर्कनु परेको रेडियो नेपालको जिज्ञासामा मन्त्री अधिकारीले २७ अर्ब ३६ करोड रुपैयाँको रासायनिक मल खरिद गरि वितरण भैरहेकाले विगतका वर्षहरुमा भन्दा अभावको गुनासो कम आएको बताए।

उनले आफू राष्ट्रसंघीय कृषिसम्वन्धी छलफलमा सहभागी भै हिजो साँझमात्र मुलुक फर्केको जानकारी गराउँदै मन्त्री अधिकारीले सम्मेलनमा जलवायु प्रकोपको समुत्थान,वैकल्पिक खेती, खाद्य सुरक्षा लगायतका विषयमा छलफल भएको र त्यसले वर्तमान विषम अवस्था अन्त्य गर्न  विश्व समुदाय एक भै अघि बढ्ने सहमति भएको बताए।

Advertisment