काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीहरुले पौने दुई खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्म कम्पनीहरुले एक खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ४१ लाख २ हजार ४८९ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका ह्ुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा १६.०५ प्रतिशत अर्थात २५ अर्ब ९ करोड ८५ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ७४ हजार ६३५ बीमालेख बिक्री गरी एक खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
गत जेठको तुलनामा असारमा कम्पनीहरुले २६ अर्ब ९० करोड ५७ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत जेठमा मात्र कम्पनीहरुले सात लाख ३८ हजार ४०० बीमालेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् ।
नेपाल लाइफको व्यापार ४८ अर्बमाथि
असार मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २२ लाख ८७ हजार ९२१ बीमालेख बिक्री गरी ४८ अर्ब तीन करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
अन्य कम्पनीको व्यापार
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १५ लाख १९ हजार ७४५ बीमालेख जारी गरी २२ अर्ब ४२ करोड ४४ लाख ९७ हजार रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९१ हजार ८७१ बीमालेख जारी गरी १९ अर्ब ९२ करोड ५५ लाख सात हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले १७ अर्ब ६६ करोड सात लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ६१ हजार ९०३ बीमालेख जारी गरी नौं अर्ब ८५ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले छ अर्ब २५ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै एशियन लाइफले १० अर्ब २४ करोड ८४ लाख बराबरको व्यवसाय गर्दा आईएमई लाइफले चार अर्ब ७२ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफले पाँच अर्ब ४५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले पाँच अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले सात अर्ब ५१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख, सानिमा रिलायन्स लाइफले सात अर्ब ६९ लाख र प्रभु महालक्ष्मी लाइफले पाँच अर्ब ३७ करोड एक लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार ८४ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । असार मसान्तसम्म कम्पनीहरुले १५ लाख २८ हजार ५१० बीमालेख जारी गरी ८४ करोड ३४ लाख २९ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ३१ करोड ९९ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ३१ करोड ३९ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २१ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment