Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? 

इम्पेरिमेन्ट चार्ज घट्दा कृषि विकास बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको हो । यसका साथै बैंकको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.२१ प्रतिशत घटेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १.८४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.२९ प्रतिशत बढेको छ। 

अघिल्लो आवको अन्त्यमा ३.९१ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ३.२६ प्रतिशत झरेको छ । जसका कारण इम्पेरिमेन्ट चार्ज दुई अर्ब ४५ करोड रुपैयाँबाट घटेर १० करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ। 

यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असार मसान्तसम्म बैंकको आम्दानी ९.७ रुपैयाँले बढेर २७.६३ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ। 

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ५५ करोड २० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८.४२ रुपैयाँ रहेको छ।

असार मसान्तसम्म १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। 

Advertisment

थप समाचार