काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरिमेन्ट चार्जसँगै खराब कर्जा पनि बढेका कारण पनि नाफा प्रभावित भएको हो । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १५.१३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.३२ प्रतिशतले घटेको छ। अघिल्लो आवको अन्त्यमा ४.१० प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.९४ प्रतिशत झरेको छ । जसका कारण इम्पेरिमेन्ट चार्ज एक अर्ब ७२ करोड रुपैयाँबाट बढेर दुई अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि घटेको छ। असार मसान्तसम्म बैंकको आम्दानी ०.१९ रुपैयाँले घटेर ८.७६ रुपैयाँमा झरेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५.२५ रुपैयाँ रहेको छ।
असार मसान्तसम्म १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा आठ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।
Advertisment