काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म आइपुग्दा कोषको खुद ब्याज आम्दानी बढेका कारण नाफामा वृद्धि देखिएको हो । यसका साथै कोषको वित्तीय खर्च घटेका कारण पनि नाफा बढेको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कोषको सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढेको छ भने कुल आम्दानी ८.९६ प्रतिशत बढेको छ । त्यस्तै कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेको छ भने कुल खर्च ६.७७ प्रतिशत घटेको छ।
यस अवधिमा आइपुग्दा नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी (इपीएस) भने घटेको छ। असार मसान्तसम्म कोषको इपीएस १.४१ रुपैयाँले घटेर १९.३४ रुपैयाँमा झरेको छ। त्यस्तै कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।
कोषले प्रयोगमा ल्याई रहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य निकायहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुने गरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई आकर्षक बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरू रहेको कोषले जनाएको छ।
त्यसैगरी पुँजीबजार तर्फको कारोबारमा प्रतिष्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आबद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाह्य चुनौतीहरू रहेको समेत विवरणमा उल्लेख छ ।
यसैगरी बजारमा अधिक तरलता रहेको कारणबाट मुद्दती निक्षेपको ब्याजदरमा आएको अत्याधिक गिरावटले कोषले सञ्चालन गरेका कार्यक्रम र योजनाको वित्तीय अवस्थामा पर्न गएको असर चुनौतीपूर्ण रहेको कोषले जनाएको छ ।
यी चुनौतीहरू समाधानका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलाइज गर्ने, बैंक रिकन्सिलियसन कार्यलाई चुस्त दुरुस्त बनाउने, सहभागीहरूलाई आर्कषक प्रतिफल दिने गरी सुरक्षित रूपमा लगानी विविधीकरण गर्ने लगायतका रणनीति कोषले लिएको छ ।
Advertisment