काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा दुई अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा बढेसँगै खुद नाफा बढेको हो । यसका साथै बैंकको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.२१ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ३.३३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.९७ प्रतिशत बढेको छ।
अघिल्लो आवको अन्त्यमा १.७२ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ भने बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत रहेको छ ।
यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असार मसान्तसम्म बैंकको आम्दानी १.२८ रुपैयाँले बढेर १८.९३ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.८० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा रहेको छ।
यस अवधिसम्ममा बैंकले दुई खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ७६ अर्ब ४४ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । असार मसान्तसम्म १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रिर्टन्ड अर्निङ दुई अर्ब ७८ करोड रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment