काठमाडौं : हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज घट्दा नाफा बढेको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशतले घटेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ८८.४१ प्रतिशत बढेको छ।
यस अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर एक अर्ब ५३ करोड रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढेको हो ।
अघिल्लो आवको अन्त्यमा ४.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ७.२८ प्रतिशतमा पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा सात अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२.७९ रुपैयाँ ऋणात्मक रहेको छ।
यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असार मसान्तसम्म बैंकको आम्दानी १.२७ रुपैयाँले बढेर ६.९८ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात अनुपात ३३.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।
असार मसान्तसम्म २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।
Advertisment