काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क र कुल आम्दानी बढेसँगै नाफा बढेको हो । यसका साथै कम्पनीको कुल खर्च घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो ।
इन्स्योरेन्सको कुल आम्दानी २.०६ प्रतिशतले बढेर तीन अर्ब ९ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ३.३६ प्रतिशतले घटेर २ अर्ब ८ करोड ८३ लाख रुपैयाँमा झरेकोे छ । साथै अघिल्लो वर्ष अभिकर्ता कमिसनमा ३ करोड ७५ लाख रुपैयाँ खर्चिएको कम्पनीले गत वर्ष ३ करोड ४७ लाख रुपैयाँ मात्रै खर्चिएको छ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३५.१८ प्रतिशतले घटेर ४७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै यस अवधिमा आइपुग्दा कम्पनीको बीमाकोषको आकार १६.०२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष कम्पनीको बीमाकोषको आकार ४ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा गत वर्ष बढेर ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि २९.८८ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । साथै यस अवधिमा कम्पनीले दुई अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले एक अर्ब ८४ करोड ४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ०.८९ रुपैयाँ बढेर २५.४१ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ ५६ पैसा रहेको छ।
असार मसान्तसम्म दुई अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा २२ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९५ करोड ५० लाख र जगेडा कोषमा साढे ९५ करोड रुपैयाँ सञ्चिति रहेको छ।
Advertisment