Below Menu
Below Menu

साढे १७ अर्बको विद्युत निर्यात भएको छ, लोडसेडिङको हल्ला निरर्थकः ऊर्जामन्त्री 

साढे १७ अर्बको विद्युत निर्यात भएको छ, लोडसेडिङको हल्ला निरर्थकः ऊर्जामन्त्री 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिएका थिए। “हामीले सुधारलाई तीव्रताका साथ अघि बढाएका छौं र विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौं। त्यसैले लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,” मन्त्री खड्काले आफ्नो उत्तरमा भने।

मन्त्री खड्काले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्र गति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको जानकारी पनि दिएका थिए। साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको पनि उनले बताए।

“विद्युत् निर्यात र आयातको सन्दर्भमा हामीले ५ अर्ब रुपैयाँको मुनाफा लिइरहेका छौं। देशभरका केही क्षेत्रमा अझै विद्युत् पुर्‍याउन बाँकी रहेको भए पनि ती ठाउँहरूमा पनि आपूर्ति जारी छ,” मन्त्री खड्काले थपे।

मन्त्री खड्काले सरकारको ऊर्जा क्षेत्रमा भइरहेको सुधारका कदमलाई निरन्तरता दिने र सबै नागरिकलाई विश्वास दिलाउने गरी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisment

थप समाचार