काठमाडौं : नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ हजार १७५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो । तर, बैंकले यस वर्ष प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्लो आवको दुई करोड ८४ लाख रुपैयाँ मात्र देखिएको छ। जसका कारण बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको हो।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा बढेको हो । यसका साथै बैंकको इम्पेरिमेन्ट चार्ज घटेका कारण पनि नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६९२.४३ प्रतिशत बढेको छ।
गत वर्ष ४ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज घटेर एक अर्ब १३ करोड ५५ लाख रुपैयाँ सिमित रहेकाे छ ।
अघिल्लो आवको अन्त्यमा ४.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.४७ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँ रहेको छ भने बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत रहेको छ ।
यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। असार मसान्तसम्म बैंकको आम्दानी २५.४८ रुपैयाँले बढेर २५.६८ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा रहेको छ।
यस अवधिसम्ममा बैंकले ३ खर्ब ३२ करोड २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब २१ करोड ७० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । असार मसान्तसम्म १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment