काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा एक अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ९९ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी बढेपनि बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफा प्रभावित भएको हो । यसका साथै बैंकको खराब कर्जा बढेका कारण पनि नाफामा असर परेको हो । । गत वर्ष ६४ करोड ८३ लाख रुपैयाँ रहेकोे बैंकको इम्पेरिमेन्ट चार्ज बढेर एक अर्ब दुई करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.६२ प्रतिशत बढेको छ।
अघिल्लो आवको अन्त्यमा १.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ३.३५ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने बैंकको लाभांश क्षमता ११.२९ प्रतिशत रहेको छ ।
यस अवधिमा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि घटेको छ। असार मसान्तसम्म बैंकको आम्दानी १.८१ रुपैयाँले बढेर १६.५४ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा रहेको छ।
यस अवधिसम्ममा बैंकले एक खर्ब ९९ अर्ब ६० करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३४ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । असार मसान्तसम्म १० अर्ब ८९ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।
Advertisment