काठमाडौं : हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले ७१ अर्ब ५१ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुले ४९ अर्ब ८७ करोड २४लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत असार मसान्तसम्म आइपुग्दा १६ बैंकको नाफा बढेको छ । अन्य चार बैंकहरुको नाफामा भने घटेको छ ।

यद्यपी बैंकहरुको नाफा र लाभांश क्षमता बढेपनि खराब कर्जाको सकस भने उस्तै रहेको छ ।
१२ प्रतिशतले बढ्यो खराब कर्जा
बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो ।
गत आर्थिक वर्षका असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १२.९२ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणमा गत आवको चौथो त्रैमाससम्म बैंकहरुको खराब कर्जा औषतमा ०.४८ प्रतिशतले बढेको हो ।

आव २०८१/८२ को असार मसान्तसम्म आइपुग्दा १३ वटा बैंकहरुको खराब कर्जा बढेको छ भने सात बैंकको खराब कर्जा घटेको छ ।
ऋण असुली न्यायाधीकरणमा मुद्दाका चाङ
समयमा लगानी नउठ्दा यता बैंक तथा वित्तीय संस्थाहरु झन्झन् समस्यामा फस्दै गएको ऋण असुली न्यायाधीकरणमा थुप्रिएको मुद्दाका चांङबाटै प्रस्ट हुन्छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ८३८ वटा मुद्दा न्यायाधीकरणमा परेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले १५ अर्ब ८ करोड ४१ लाख रुपैयाँ बराबरको माग दाबी गर्दै उक्त संख्यामा मुद्दा दायर गरेका छन् । बैंकहरुले दर्ता गरेका मुद्दाका प्रतिवादीमा अधिकांश निर्माण कम्पनीहरु रहेका छन् ।
यसका साथै, तरकारी तथा फलफूल पसल, सुनचाँदी पसल, फर्निचर उद्योग, अस्पताल, ग्यास डिपो, कृषि फर्म, रिसोर्ट एण्ड पाटी प्यालेस लगायतका क्षेत्रहरु समेत रहेका छन् ।
लगानी सुरक्षित र भरपर्दो ठाउँमा नपर्नाको कारण त छदैछ थप पछिल्लो समय केही आर्थिक शिथिलताका कारण राम्रै भनिएका क्षेत्रबाट समेत साँवा ब्याजको किस्ता नियमित नभइदिँदा बैंकहरुको लगानी जोखिममा पर्न गएको हो ।
पछिल्लो समय खासै कर्जाको माग नआइरहेका बेला उता यसअघिनै गरेको लगानी समेत उठ्न नसकेपछि बैंकहरु समस्यामा छन् । निजी क्षेत्रको मनोबल खस्किदा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिरहेको छ । निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेका छन् । यद्यपि, बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमान गरिएभन्दा कम रहेको छ । निष्क्रिय कर्जा अनुपात बढिरहेको छ ।
सर्वाधिक मुद्दा वाणिज्य बैंकका
समीक्षा अवधिमा कर्जा असुली न्यायाधिकरणमा परेका कूल मुद्दामध्ये सर्वाधिक वाणिज्य बैंकहरुको रहेको देखिन्छ । गत वर्ष मात्रै वाणिज्य बैंकहरुबाट १२ अर्ब ५६ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको मागदावी सहित ६३२ मुद्दा परेका छन् । दायर भएका मुद्दामा एक तिहाई मुद्दा भने निर्णय भएका छन् ।

लाभांश क्षमता औषतमा १०.३३ प्रतिशत
गत आर्थिक वर्षको मुनाफाबाट अधिकांश वाणिज्य बैंकहरुले शेयरधनीलाई दोहोरो अंकमा लाभांश दिन सक्ने देखिएका छन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १६ बैंकले शेयरधनीलाई लाभांश दिन सक्नेछन् । गत आवको आवको नाफाबाट बैंकको लाभांश दिने क्षमता १.४४ देखि ३८.२७ प्रतिशतसम्म रहेको छ ।
सर्वाधिक लाभांश दिने क्षमता भएको बैंकमा एभरेष्ट रहेको छ । गत गत आवको मुनााफाबाट बैंकको लाभांश दिने क्षमता ३८.२७ प्रतिशत रहेको छ ।
यस्तै सबैभन्दा कम लाभांश क्षमता रहेको बैंकका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकको लाभांश क्षमता १.४४ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको लाभांश दिने क्षमता ऋणात्मक थियो ।
गत आवको वितरयाणयोग्य नाफाबाट नेपाल बैंक, कुमारी, हिमालयन र एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश दिने छैनन् ।

प्रतिशेयर आम्दानी औषत १९.४४ रूपैयाँ
वाणिज्य बैंकहरूले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरुको औषत प्रतिशेयर आम्दानी १९.४४ रूपैयाँ देखिएको छ । अधिकांश बैंकहरुले नाफासँगै प्रतिशेयर आम्दनाी पनि बढाएका छन् ।
उक्त वित्तीय विवरणअनुसार एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँभन्दा बढी रहेको छ भने एनआईसी एशियाको सबैभन्दा कम १.८ रूपैयाँ रहेको छ ।
एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी आम्दानी क्रमशः ३७.९९ प्रतिशत र ३०.१७ प्रतिशत रहेको छ ।
Advertisment