काठमाडौं : गत आर्थिक वर्षमा बीमा कम्पनीहरुको नाफा झण्डै २२ प्रतिशतले घटेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बीमा कम्पनीहरुको नाफा १० अर्ब १८ करोड ५१ लाख दुई हजार रुपैयाँ रहेको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.८१ प्रतिशत अर्थात २ अर्ब ८४ करोड १३ लाख रुपैयाँले कम हो । अघिल्लो वर्ष निर्जीवन र जीवन बीमा कम्पनीहरुले १३ अर्ब दुई करोड ६४ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुको घट्दो ब्याजदर, हुलदंगा र बाढी पहिरो लगायतका विपद्का घटनाले बीमा क्षेत्रमा प्रत्यक्ष असर परेको छ । फलस्वरुप बीमा कम्पनीहरुको नाफा घट्न पुगेको हो ।
बाढी पहिरो लगायतका विपद्ले दाबी भुक्तानी बढ्दा कम्पनीहरुको नाफा खुम्चिएको नेपाल बीमा प्राधिकरणको भनाई छ । यसका साथै बैंकहरुको ब्याजदर घटेको कारण पनि नाफामा असर परेको जनाइएको छ ।
जीवन बीमा कम्पनीको नाफा १६ प्रतिशतले घट्यो
प्रकाशित वित्तीय विवरण अनुसार असार मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीको नाफा छ अर्ब २ करोड ४७ लाख ९१ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कम हो ।
यस अवधिमा छ कम्पनीहरुको नाफा बढेको छ भने आठ कम्पनीको नाफा घटेको छ । नाफा घट्नेमा सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीसहित आठ कम्पनी रहेका छन् ।
असार मसान्तसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनीको नाफा १६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष दुई करोड ४७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत वर्ष दुई करोड आठ लाख रुपैयाँ नाफा कमाएको हो ।
असार मसान्तसम्म आइपुग्दा नेशनल लाइफ नाफा ५६.५२ प्रतिशत, एलआईसीको ६१.९२ प्रतिशत, मेट लाइफको ४०.०७ प्रतिशत र हिमालयन लाइफको नाफा १३.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै यस अवधिमा सबैभन्दा बढी नाफा बढाउनेमा एसियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा २४.५९ प्रतिशतले बढेर ४० करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाल लाइफको नाफा १७.३७ प्रतिशत र रिलायबल नेपाल लाइफको ४५.२५ प्रतिशतले बढेको छ ।
निर्जीवन बीमा कम्पनीको नाफामा २९ प्रतिशत घट्यो
यता निर्जीवन बीमा कम्पनीको नाफा पनि २८.९२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीहरुको नाफा ५ अर्ब ८५ करोड २९ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने उक्त नाफा गत वर्षको सोही अवधिमा आइपुग्दा घटेर ४ अर्ब १६ करोड ३ लाख ११ हजार रुपैयाँमा झरेको छ ।
यस अवधिमा आइपुग्दा छ कम्पनीको नाफा घटेको छ भने नाफा बढाउनेमा आठ कम्पनी रहेका छन् । असार मसान्तसम्म आइपुग्दा प्रभु इन्स्योरेन्सको ३९.२४ प्रतिशत र सानिमा जिआईसीको नाफा १०.१३ प्रतिशतले बढेको छ ।

यस अवधिमा सबैभन्दा बढी नाफा घट्नेमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा ८६.०९ प्रतिशतले घटेको हो । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको नाफा ३१.८३ प्रतिशत, युनाइटेड अजोडको १२.८७ प्रतिशत र आईजीआई प्रुडेन्सियलको नाफा २७.८३ प्रतिशतले घटेको छ ।
त्यसैगरी गत वर्षको सोही अवधिमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको नेशनल इन्स्योरेन्स ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ घाटामा रहेको छ ।
Advertisment