Below Menu
Below Menu

बैंकहरूको बढ्दो नाफाले सरकारलाई टेवा, एक वर्षमा बुझाए पौने ३३ अर्ब कर ! 

बैंकहरूको बढ्दो नाफाले सरकारलाई टेवा, एक वर्षमा बुझाए पौने ३३ अर्ब कर ! 

काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई ३३ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ कर बुझाएका छन् । कर बापतको यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.५६ प्रतिशतले बढी हो । 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले आयकर वापत सरकारलाई २६ अर्ब ५४ करोड ८० लाख ४० हजार रुपैयाँ बुझाएका थिए ।

बैंकहरुको नाफा बढेसँगै यता आयकर भुक्तानी समेत बढ्न पुगेको हो । आयकर ऐन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान रहेको छ । 

यस अवधिमा सबैभन्दा धेरै आयकर तिर्नेमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले असार मसान्तसम्म सरकारलाई आम्दानी वापतको तीन अर्ब ६६ करोड ४९ लाख रुपैयाँ कर बुझाएको छ । 

त्यस्तै सबैभन्दा धेरै आयकर तिर्ने दोस्रोमा नबिल रहेको छ । बैंकले गत आवमा आम्दानी वापतर सरकारलाई ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर तिरेको छ । 

यता, नाफामा उल्लेख्य सुधार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ आयकर बुझाएको छ । बैंकको यस्तो कर अघिल्लो वर्षको तुलनामा ८३.४३ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष २ अर्ब ७२ करोड ९९ लाख ३५ हजार रुपैयाँ आयकर बुझाएको ग्लोबल आईएमई बैंकले यस अवधिमा ५.५२ प्रतिशत कम अर्थात २ अर्ब ५७ करोड ९२ लाख ९७ हजार रुपैयाँ आयकर बुझाएको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकले एक अर्ब ९१ करोड ४१ लाख, कृषि विकास बैंकले एक अर्ब ६९ करोड ५६ लाख, लक्ष्मी सनराइजले एक अर्ब ६५ करोड १५ लाख, नेपाल बैंकले एक अर्ब ६५ करोड एक लाख, सिद्धार्थले एक अर्ब ६४ करोड १८ लाख, स्ट्याण्डर्ड चार्टर्ड एक अर्ब ५२ करोड ४९ लाख र एनएमबिले एक अर्ब ४१ करोड ३६ लाख रुपैयाँ बुझाएका छन् ।

प्रकाशित विवरण अनुसार सानिमा बैंकले गत वर्ष ९८ करोड ७९ लाख, नेपाल एसबिआई ९० करोड ७४ लाख, माछापुच्छ्रेले ८९ करोड २८ लाख, प्रभूले ८६ करोड २४ लाख, हिमालयनले ५७ करोड ३८ लाख, सिटिजन्सले ५४ करोड ५१ लाख र एनआइसी एशियाले ५ करोड ५१ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

यसैगरी सरकारी स्वमित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले समीक्षा अवधिमा सरकारलाई एक अर्ब ६३ करोड ५७ लाख रुपैयाँ आयकर बुझाएको छ । 

यस अवधिमा नाफामा भारी गिरावट देखिएको एनआईसी एशिया बैंकले तिर्ने आयकरमा पनि कमी आएको छ । गत वर्ष बैंकले आयकर वापत सरकारलाई ५ करोड ५१ लाख ५२ हजार रुपैयाँ बुझाएको छ । 
 

Advertisment