काठमाडौं : संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा धादिङकै दुईवटा पालिका उत्कृष्ट घोषणा गरेको छ।
धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई सरकारले उत्कृष्ट घोषणा गरेको हो।
नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका पहिलो, चितवनको खैरहनी नगरपालिका दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो भएका छन्।
त्यस्तै गाउँपालिकातर्फ धादिङकै बेनीघाट रोराङ गाउँपालिका पहिलो, गुल्मीको रुरुक्षेत्र दोस्रो र स्याङजाको अर्जुनचौपारी गाउँपालिका तेस्रो भएका छन्।
समग्रतामा धादिङको नीलकण्ठ नगरपालिका पहिलो हुँदा धादिङकै बेनिघाट रोराङ गाउँपालिका तेस्रो भएको छ।
गत वर्षपनि नीलकण्ठ नगरपालिका पहिलो भएको थियो ।
स्वमूल्यांकनमा शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, सामाजिक समावेशीकरण लगायत दश शीर्षकका एक सयवटा सूचकहरुबाट मूल्यांकन गरिन्छ र यसले सेवा प्रवाह गुणस्तरीय र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।
शुक्रबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक कार्यक्रमका बीच मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले प्रतिवेदनसहित उच्च अंक प्राप्त गर्ने ३-३ वटा गाउँपालिका र नगरपालिकाको नाम सार्वजनिक गरेका हुन्।
नाम सार्वजनि गरेसँगै उत्कृष्ट हुने पालिकाहरुलाई सम्मान गरिएको थियो।

उच्चतम अंक पाएका पहिलो भएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले स्वमूल्यांकनको विषयमा आ-आफ्ना अनुभव तथा सिकाइ आदानप्रदान गरेका थिए।
वित्तीय पोस्टसँग कुरा गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढंगानाले पालिका उत्कृष्ट भएको यसले नगरबासीलाई नै खुशी तुल्याएको बताए। उनले स्थानीय सरकारप्रति गुनासो मात्रै बढिरहेका बेला पालिका उत्कृष्ट हुनुले यसले जनतामा स्थानीय सरकारप्रति विश्वास र आशा बढाएको बताए । यसले पालिकाका सेवाहरुलाई सुधार र परिस्कृत गर्न सहयोग गर्ने उनले बताए ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७५/२०७६ बाट यो कार्यक्रम सुरु गरेको हो। सरकारले उत्कृष्ट पालिका घोषणा गरेको यो दोस्रो पटक हो ।
तत्कालिन अवस्थामा नीलकण्ठ लगायत देशभरका ३८ स्थानीय तहमा पाइलटिङको रुपमा यो कार्यक्रम सुरु गरेको थियो। त्यस बेला पनि नीलकण्ठ प्रथम बनेको थियो ।
लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना ब्यवस्थापन, वित्तिय एवं आर्थिक ब्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन, र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरु रहेका छन्।
लिसामा रहेको १० वटा विषयगत क्षेत्रहरुको ३ वटा आयाम र १ सय वटा सूचकहरुको मुल्यांकनका आधारमा अंक प्रदान गरिन्छ ।
हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरुको प्रमाणसहित स्थानीय तहहरुले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ ।
मन्त्रालयले गुणस्तर परीक्षणमा स्थानीय तहहरुले गरेको दाबी र प्रमाणलाई मुल्यांकन गरेर नतिजा घोषणा गर्ने गर्दछ।
Advertisment