काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ बराबरको ऋण लगानी गरेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकमार्फत अधिकतम ४९ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ लगानी भएको छ भने विकास बैंकमार्फत ५ खर्ब २४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यस्तै अन्य फाइनान्स कम्पनीहरूले असार मसान्तसम्म विभिन्न क्षेत्रमा एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
घर खर्च चलाउन साढे ११ खर्ब ऋण
राष्ट्र बैंकको तथ्यांक अनुसार कर्जा परिचालनको तथ्याङ्क हेर्दा अधिक कर्जा घर खर्चमा प्रवाह गरेको देखिन्छ । एक वर्षमा बैंकहरूले यो क्षेत्रमा ११ खर्ब ५१ अर्ब ७० करोडभन्दा बढी कर्जा प्रवाह गरेका छन् । कुल कर्जा लगानीको तुलनामा उपभोग्य क्षेत्रको कर्जा उपभोग १०.५९ प्रतिशत छ ।
अघिल्लो वर्ष १० खर्ब १३ अर्ब ६० करोड रुपैयाँ होल्ड गरेको यो क्षेत्रको कर्जा उपभोग पछिल्लो वर्ष १३.६२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले होलसेल तथा रिटेल व्यावसायिक क्षेत्रमा १० खर्ब ३३ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको १८.४७ प्रतिशत हो । यो उपभोग्य क्षेत्रपछिको दोस्रो बढी कर्जा प्रवाह भएको क्षेत्र हो ।
जेठसम्म होलसेल तथा रिटेल क्षेत्र एक्लैले १० खर्ब ५१ अर्ब चार करोड रुपैयाँ कर्जा उपभोग गरेकोमा पछिल्लो महिना यस्तो कर्जा उपभोगमा १.७० प्रतिशतले कम भएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने यस्तो कर्जाको उपभोग ३.३७ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार कृषि, वन पैदावार तथा खाद्य तथा पेय पदार्थ उत्पादनको क्षेत्रमा बैंकहरूले ९ खर्ब २९ अर्ब १२ करोड कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ८.३२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल आठ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्राथमिकताका क्षेत्रहरूमा ऋण लगानी
कृषि तथा वन पैदावार क्षेत्रमा– तीन खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ
कन्स्ट्रक्सन (निर्माण क्षेत्र) मा– २ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ
जलविद्युत, ग्यास र पानीमा– ४ खर्ब ४५ अर्ब ६१ करोड रुपैयाँ
धातुजन्य उत्पादन तथा मेसिनरीको क्षेत्रमा– ७३ अर्ब ७ करोड रुपैयाँ
यातायात, सञ्चार तथा सार्वजनिक सरोकारका क्षेत्रमा– ८३ अर्ब ३१ करोड रुपैयाँ
फाइनान्स, बीमा तथा घरजग्गाको क्षेत्रमा– ४ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ
पर्यटन सेवाको क्षेत्रमा– २ खर्ब ५७ अर्ब दुई करोड रुपैयाँ
राष्ट्र बैंकका अनुसार प्राथमिकताका क्षेत्रमा कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनका क्षेत्र रहेका छन् । यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कुल कर्जाको कम्तीमा ४० प्रतिशत अनिवार्य प्रवाह गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।
गाडी किन्न एक खर्ब २८ अर्ब ऋण
बैंकहरूले लगानीको सुरक्षण खोज्दैगर्दा हायर पर्चेज सेग्मेन्टमा एक खर्ब २८ अर्बभन्दा बढी लगानी गएको छ । बैंकहरूले सवारी कर्जामा यस्तो लगानी गरेका हुन् ।
असार मसान्तसम्ममा हायर पर्चेजमा एक खर्ब २८ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलानामा ३.६८ प्रतिशत अर्थात चार अर्ब ५७ करोडले लगानी बढाएका छन् । २०८१ असारमा भने यस्तो सवारी कर्जाको हिस्सा एक खर्ब २४ अर्ब १० करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकले सवारी कर्जालाई सहजीकरण गर्दै मौद्रिक नीतिको गत आवको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिदिएपछि यो क्षेत्रमा लगानीमा बढेको हो ।
यस्तै, गत आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर मार्जिन लोनमा २० करोडमा सीमा खारेज गरिदिँदा शेयर धितो कर्जामा पनि उल्लेख्य लगानी वृद्धि भएको देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा शेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ रहेको छ । शेयर धितो कर्जा बढेपनि शेयर बजारप्रति आम लगानीकर्ताहरूको उत्साह भने अझै बढ्न सकेको छैन ।
राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको २० करोडको सीमा खारेज गरिदिएको थियो ।
२०८१ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाले शेयर मार्जिन प्रकृतिको कर्जामा ५० अर्ब ६० करोड रुपैयाँले ऋण लगानी बढाएका छन् । असार मसान्तसम्म यो क्षेत्रमा ९० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी भएको थियो ।
त्यस्तै यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रियल स्टेटको क्षेत्रमा दुई खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगनी गरेका छन् । अघिल्लो वर्ष यस क्षेत्रमा बैंकहरुको यस्तो लगानी दुई खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।
Advertisment