काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट २४६ खर्ब बढी तरलता प्रशोचन गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएपछि त्यसलाई व्इस्थापिन गर्न राष्ट्र बैंकले उक्त रकम बराबरको तरलता उठाएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा स्थायी निक्षेप सुविधामार्फत रु.२१५ खर्ब ८ अर्ब ४० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.३१ खर्ब ४२ अर्ब ९५ करोड गरी कुल रु.२४६ खर्ब ५१ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी ओभरनाइट तरलता सुविधामार्फत रु.२ अर्ब ७० करोड तरलता उपयोग गरेका छन् । फलस्वरूप, समीक्षा वर्षमा खुद रु.२४६ खर्ब ४८ अर्ब ६५ करोड तरलता प्रशोचन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद रु.३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ५ अर्ब ८३ करोड खुद खरिद गरी रु.७८७ अर्ब तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ८९ करोड खुद खरिद गरी रु.७८३ अर्ब ४७ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब १६ करोड बिक्री गरी रु.५ खर्ब ६७ अर्ब ६१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब २ करोड बिक्री गरी रु.५ खर्ब ३५ अर्ब ७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।
Advertisment