काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादबविरुद्ध साढे पाँच करोड रुपैयाँ अवैध सम्पत्ति रहेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।
नापी अधिकृत यादवले माथिल्लो विभागीय प्रमुख र राजनैतिक ब्यक्तिहरुलाई प्रभावमा पारी उपसचिवसरहको प्रमुख रहने दरबन्दी रिक्त बनाई, बैदेशिक अध्ययनमा गएका कर्मचारीको पद, दरबन्दी कायम गरी दशौं बर्ष निमित्त कार्यालय प्रमुख पदमा रही, सरकारी सार्वजनिक जग्गाहरु हाल साबिक, प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरु ब्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गर्ने गरेको आयोगको भनाई छ ।
उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीपरेपछि आयोगले यादव र परिवारको २०५३ असार १३ देखि ८१ असार १६ सम्मको सम्पत्ति विवरण जाँच गरेको थियो ।
जसमा उनको पारिश्रमिक/तलब बचत रकम, बिभिन्न भत्तामध्ये बैठक भत्ता, प्रोत्साहन भत्ता र अन्य दैनिक भ्रमण भत्ता बचत रकम, जग्गा बिक्री आय, ऋण कर्जा आय, बैंक ब्याज आय, विमा परिपक्व आय, कृषि आय र सवारी साधन बिक्री आय रकम गरी कूल जम्मा नौं करोड ३ लाख ९५ हजार ४४४ दशमलव २० रूपैयाँ मात्र आय रहेको आयोगको भनाई छ ।
सोही अवधिमा जग्गा खरिद रकम, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद लगायत उनको व्यवसायिक लगानीको विवरण हेर्दा उनको खर्चमा १४ करोड ८३ लाख ५७ हजार ८८४ दशलमव ५९ रूपैयाँ रहेको आयोगले जनाएको छ ।
उनको आम्दानी र खर्चको लेखाजोखा गर्दा ५ करोड ७९ लाख ६२ हजार ४४० दशमलव ३९ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगको ठहर छ । उनीविरुद्ध सोही रकम बराबरको बिगो मागदाबी सहित मुद्दा दायर गरिएको छ ।
साथै उनले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट परिवार श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबका नाममा खरिद गरेको सम्पत्ति समेत जफत गर्ने गरी आयोगले तीनै जनालाई प्रतिवादी शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Advertisment