साढे पाँच करोडले बढ्यो निर्जीवन बीमाको व्यापार, साउनमा उठाए साढे सवा चार अर्ब बीमाशुल्क 

साढे पाँच करोडले बढ्यो निर्जीवन बीमाको व्यापार, साउनमा उठाए साढे सवा चार अर्ब बीमाशुल्क 

काठमाडौं : आर्थिक शिथिलताका बाबजुद पनि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ ।  आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्तसम्म कम्पनीहरुले सवा चार अर्ब रुपैयाँ भन्दाबढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले २ लाख १५ हजार २८५ बीमालेख बिक्री गरी चार अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय १.३७ प्रतिशत अर्थात पाँच करोड ८४ लाख रुपैयाँले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीहरुले दुई लाख २१ हजार ७१ बीमालेख जारी गरी चार अर्ब २६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले २५ हजार २३७ बीमालेख जारी गरी ४१ करोड ५५ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

साउन मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले १३ हजार ७८ बीमालेख बिक्री गरी २० करोड ७१ लाख ८२ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख २३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले २३ करोड छ लाख ४७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ३२ करोड एक लाख ३७ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख, हिमालयन एभरेष्टले ३६ करोड ५२ लाख र सानिमा जिआइसीले २२ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

साउन मसान्तसम्ममा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सले ४५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने आईजीआई प्रुडेन्सियलले ३३ करोड ८१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

साउन मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख सात हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४१ करोड ७९ लाख र युनाइटेड अजोडले २९ करोड ६७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

लघुबीमाको व्यापार साढे सात करोडबढी 

साउन मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे सात करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले २८ हजार ४५६ बीमालेख जारी गरी सात करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले दुई करोड एक लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दुई करोड आठ लाख, स्टार माइक्रो इन्स्योरेन्सले एक करोड ७४ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले एक करोड ९८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।


 

थप समाचार