Below Menu
Below Menu

दश वाणिज्य बैंकको कर्जा गुणस्तर जाँच गर्न बंगलादेशी कम्पनीले पायाे ठेक्का

दश वाणिज्य बैंकको कर्जा गुणस्तर जाँच गर्न बंगलादेशी कम्पनीले पायाे ठेक्का

काठमाडौं : नेपालका १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि नेपाल राष्ट्र बैंकले बङ्गलादेशको लेखापरीक्षक कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकको लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको हो । सम्झौता अनुसार उक्त कम्पनीले आगामी ५ महिना भित्रमा १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले उक्त कार्यका १० वाणिज्य बैंकको लेखापरीक्षण गर्नका लागि ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अमेरिकी डलर अर्थात ३ करोड ७५ लाख ५८ हजार ३७७ रुपैयाँ गरी कुल चार करोड ३८ लाख ८१ हजार लागतमा सम्झौता गरेको हो । 

सम्झौताअनुसार कम्पनीले राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एशिया गरी १० बैंकको कर्जा पोर्टफोलियो परीक्षण गर्नेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाका लागि १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु भनेको थियो । सोहि अनुसार राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले कर्जा गुणस्तर परीक्षण गर्न बोलपत्रमार्फत छनोट गरेको बंगलादेशी कम्पनीले सबैभन्दा धेरै स्कोर पाएको थियो । सोही अनुरुप हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सले लेखापरिक्षणको जिम्मा पाएको हो ।