काठमाडौं : नेपाल बीमा प्राधिकरणले जेनजीको अगुवाईमा भएको पछिल्लो आन्दोलनका क्रममा विकसित घटनाक्रमपछि भएको घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै देशको परिस्थिति असहज भएकाले सहज र छिटो दाबी भुक्तानी गर्न भनेको छ। गत सोमबारदेखि जेनजीले आन्दोलन सुरु गरेको आन्दोलनको पहिला दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो । त्यसपछि अक्रोशित प्रर्दशनकारीहरुले भोलिपल्ट मंगलबार देशैभरि आक्रमण, तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले देशको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबार सहित अधिकांश सरकारी कार्यलयमा तोडफोड तथा आगजनी गरेका छन् ।
सरकारी तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनीबाट अर्बौं रुपैयाँ बारबर नोक्सानी भएको छ । यसरी भएको क्षतिमा बिमितको धनसम्पत्ति परेको र माग दाबी आएको अवस्थामा भुक्तानी प्रक्रिया सहज र छिटो गर्न प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा निर्जीवन लघु बीमा कम्पनीलाई निर्देशन दिएको हो ।
प्राधिकरणले कुन–कुन शीषर्कमा माग दाबी आएको हो, त्यसको समयमा विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले सम्पत्ति, निजी तथा सार्वजनिक गाडी, सामुद्रिक, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, हवाई, कृषि बाली, पशुपन्छी र विविध शीर्षकका बीमालेखमा आएका दाबीको छिटो र सहज भुक्तानी गर्न निर्देशन दिएको हो ।
साथै, प्राधिकरणले पछिल्लो परिस्थितिका कारण भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा नियमित गर्न समेत कम्पनीहरूलाई निर्देशन जारी गरेको छ ।
Advertisment