काठमाडौं : नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले हालै देशभर भएको जेन–जी आन्दोलन र त्यसपछिको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण सुनचाँदी व्यवसायीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको लागि महासंघले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
प्रेस विज्ञप्ति जारी गर्दै महासंघले आन्दोलनले ऐतिहासिक सम्पदा, सरकारी भवन (सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय) लगायत निजी सम्पत्तिमा ठूलो क्षति पुर्याएको जनाएको छ। साथै, आन्दोलनपछि उत्पन्न असामान्य सुरक्षा स्थिति, कैदीबन्दी फरार भएका घटना र विभिन्न स्थानमा भइरहेको लुटपाटका कारण व्यवसायीहरू जोखिममा रहेको उल्लेख गरेको छ।
नजिकिँदै गरेको चाडपर्वहरूमा व्यवसाय सुरक्षित राख्न महासंघले व्यवसायीहरूलाई विभिन्न बुँदामा सतर्कता अपनाउन अनुरोध गरेको छ।
स्थानीय प्रशासनसँग समन्वय: पसलको सुरक्षा सुनिश्चित भएपछि मात्र व्यवसाय सञ्चालन गर्न स्थानीय सरकार वा प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने।
चोरीका सामग्रीबाट सतर्क: हालको परिस्थितिमा चोरी भएका सुनचाँदी वा गरगहना बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले खरिद-बिक्रीमा विशेष ध्यान दिनुपर्ने।
ग्राहकको पहिचान: ग्राहकसँग सुनचाँदीको कारोबार गर्दा उनीहरूको आधिकारिक परिचयपत्र र आवश्यक कागजातहरू जाँच गरेर मात्रै कारोबार गर्नुपर्ने।
सुरक्षा उपकरणको प्रयोग: पसलमा सीसीटीभी, अलार्म जस्ता सुरक्षा उपकरण जडान गर्न र असहज परिस्थितिमा सम्बन्धित निकायको हेल्पलाइन नम्बर सम्पर्कमा राख्न आग्रह गरिएको छ।
भीड व्यवस्थापन: पसलमा अत्यधिक भीड हुन नदिन र ग्राहकको पहिचान गरी मात्रै कारोबार गर्नुपर्ने।
अपरिचितलाई प्रवेश निषेध: अपरिचित व्यक्तिहरूलाई पसल वा घरमा सहजै प्रवेश गर्न नदिने व्यवस्था मिलाउनुपर्ने।
शंकास्पद गतिविधिबारे जानकारी: कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी वा सुरक्षाकर्मीलाई खबर गर्न महासंघले अनुरोध गरेको छ।
महासंघले यस विषम परिस्थितिमा सबै व्यवसायीलाई एकअर्काको सहयोगमा सुरक्षित र सतर्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
Advertisment