काठमाडौं : पछिल्लो समय नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएकाे छ । कर्जाकाे सीमा बढाएसँगै जोखिम भार घटाए पनि शेयर बजारले अपेक्षित गति लिन सकेको छैन ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज भएको र ब्याजदर पनि निरन्तर घटिरहेको अवस्थामा पनि नेप्से परिसूचकमा स्थिरता आउन सकेको छैन ।
शेयर धितो कर्जामा वृद्धिः किन बढेन बजार ?
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यसका साथै, जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि यस्तो कर्जा उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बजारमा एक खर्ब ४५ अर्ब रुपैयाँ ऋण गएको छ ।
यति धेरै लगानी हुँदा पनि बजारले गति लिन नसक्नुको कारणबारे अर्थविद् र लगानीकर्ताका तर्क फरक छन् ।
बजार र अर्थतन्त्रबीचको सम्बन्ध
अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार लगानीकर्तामा अर्थतन्त्र ओरालो लाग्दा पनि शेयर बजार सधैं उकालो लाग्छ भन्ने भ्रम छ । उनी भन्छन्, ‘ अर्थतन्त्र र शेयर बजारको दिशा एउटै हुनुपर्छ । अर्थतन्त्र उकालो लाग्दा शेयर बजार पनि उकालो लाग्छ, र अर्थतन्त्र ओरालो लाग्दा बजार पनि ओरालो लाग्छ ।’
यद्यपि, अन्य क्षेत्रमा लगानीका अवसर कम हुँदा धेरै पैसा भएका लगानीकर्ताहरूले शेयर बजारमा लगानी गर्दा छोटो अवधिमा उतारचढाव आएको उनको भनाइ छ ।
उनले अहिले जेन–जीको नाममा भएको विध्वंसले अर्थतन्त्र पछाडि धकेलिएको र यसको असर शेयर बजारमा पनि देखिने बताए । त्यसैले, सामान्य लगानीकर्ताले कम्पनीको प्रोफाइल राम्रोसँग नहेरी उत्साहित भएर लगानी नगर्न सुझाव उनले दिए ।
साथै, उनले शेयर बजार प्राविधिक विषय भएकाले यस सम्बन्धमा आम लगानीकर्तामा वित्तीय साक्षरता बढाउनु आवश्यक रहेकोमा जोड दिए ।
नीतिगत सुधार र बजारको प्रवृत्ति
लगानीकर्ता छोटेलाल रौनियारका अनुसार राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाए पनि त्यो ऋणको पैसा शेयर बजारमा आएको छैन । मौद्रिक नीति आएपछि लगातार १३ दिनसम्म बढेको बजार अहिले निरन्तर ओरालो लागेको छ । उनका अनुसार ट्रेडरहरू बजारमा हाबी हुँदा र नाफा बुक गर्न खोज्दा बजारमा ठूलो बिक्री चाप आएको छ ।
नेप्सेले १५ मिनेटको औसत कारोबारलाई आधिकारिक बनाएपछि केही लगानीकर्तामा त्रास फैलिएको र यही प्रवृत्तिले बजार खस्केको उनको भनाइ छ। रौनियार भन्छन्, ‘लगानीकर्ताहरू आत्तिएर महँगोमा किन्न जाने र बजार घटेपछि पनि शेयर बेच्न थाले ।’
उनले राष्ट्र बैंक, नियामक निकाय (सेबोन), नेप्से र सीडीएस एण्ड क्लियरिङ हाउस लगायतका निकायहरू बजारप्रति सकारात्मक भए पनि केही नीतिगत कमजोरीहरू रहेको औंल्याए । रौनियारका अनुसार, नियामक निकायको नियन्त्रणका कारण बैंकहरूले शेयर किन्न छाडेका छन्। यसले बजारमा आपूर्तिको दबाब बढाएको छ ।
बैंकहरूले एक वर्षसम्म शेयर बेच्न नपाउने, नागरिक लगानी कोषलाई मार्केट मेकरमा अंकुश लगाइएको, लगानी कम्पनीहरूलाई लगानी गर्न रोक लगाइएको र लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंकले सीमा तोकिदिएका कारण पनि बजारमा नकारात्मक असर परेको उनको भनाइ छ ।
दीर्घकालीन लगानीकर्ता मारमा
रौनियारका अनुसार, शेयर बजारको ३२०० बिन्दुबाट १८०० बिन्दुमा झर्दा सबै प्रकारका लगानीकर्ताको खर्बौं रुपैयाँ गुमेको छ । अहिलेको बजारमा ट्रेडरहरू हाबी हुँदा दीर्घकालीन लगानीकर्ताहरू मारमा परेका छन्।
उनले शेयर बजारमा सन्तुलन कायम गर्न र दीर्घकालीन लगानीकर्तालाई राहत दिन नियामक निकायहरूले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय शेयर धितो कर्जा मात्रै नभई बोनस शेयर, हकप्रद शेयर, र आईपीओ जस्ता नयाँ धितोपत्रको ठूलो आपूर्तिलाई पनि गणना गर्नु आवश्यक रहेको उनले बताए । यो सबैलाई जोड्दा एक खर्ब ४५ अर्बको ऋणले मात्रै सम्पूर्ण बजारको अवस्थालाई प्रतिनिधित्व गर्न नसक्ने रौनियारको तर्क छ ।
रौनियारका अनुसार अहिले बैंकहरूसँग नौं खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ, जुन उद्योग, व्यापार र शेयर बजारमा लगानी हुन सकेको भए आर्थिक गतिविधि बढ्ने थियो ।
यसरी, शेयर धितो कर्जाको वृद्धिले मात्र बजारलाई दिगो रूपमा अगाडि बढाउन नसक्ने र यसका लागि अर्थतन्त्रको समग्र सुधार र नियामक निकायको नीतिगत समन्वय अपरिहार्य रहेको दुवै विज्ञहरूको भनाइबाट स्पष्ट हुन्छ ।
शेयर धितोमा साढे एक खर्ब ऋण लगानी
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह ५५ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये २.५९ प्रतिशत लगानी शेयर धितो कर्जामा रहेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा ५८.०६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह ९१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वाणिज्य बैंकहरुले एक खर्ब २० अर्ब ६१ करोड ७ लाख, विकास बैंकहरुले १९ अर्ब ६० करोड र फाइनान्स कम्पनीहरुले तीन अर्ब ४३ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् ।
तर, गत असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुले थप तीन करोड ८३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन २.७२ प्रतिशतले बढी हो । गत असारसम्म बैंकहरुबाट एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
कुन आकारको कर्जा कति ?
साउनसम्म ठूलो आकारको शेयर कर्जा प्रवाह ७५.२१ प्रतिशतले बढेको छ । यस अवधिमा एक करोड रुपैयाँ माथिका कर्जा एक खर्ब एक अर्ब ८० करोड ५८ लाख रुपैयाँ प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार ५ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको शेयर कर्जा प्रवाह ३५.६३ प्रतिशतले बढेको छ । गत वर्षको साउनमा १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ रहेको यस्तो कर्जा बढेर १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको १७ अर्ब आठ करोड ७४ लाख रुपैयाँ र २५ लाख रुपैयाँभन्दा मुनीको आठ अर्ब ७२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कुन बैंकले कति गरे लगानी ?
साउन मसान्तसम्म शेयर धितो कर्जामा सर्वाधिक लगानी गर्नेमा नबिल बैंक रहेको छ । नबिलले यस अवधिमा १६ अर्ब ५७ करोड ७० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ ।
त्यस्तै नेपाल बैंकले सात अर्ब ५२ करोड ८० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले छ अर्ब १९ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले तीन अर्ब २४ करोड ७७ लाख रुपैयाँ शेयर धितोमा लगानी गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी भने शुन्य रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा हिमालयन बैंकले शेयर मार्जिन कर्जामा दुई अर्ब ८१ करोड एक लाख, नेपाल एसबिआईले ६२ करोड ३७ लाख, एभरेष्टले तीन अर्ब ५५ करोड दुई लाख, एनआईसी एशियाले २ अर्ब ९ करोड ४९ लाख, माछापुच्छ्रे बैंकले दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चालु आवको एक महिनामा कुमारी बैंकले शेयर धितो कर्जामा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ भने लक्ष्मी सनराइजले आठ अर्ब २२ करोड ८० लाख र सिद्धार्थ बैंकले ९ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म कृषि विकास बैंकले पाँच अर्ब ३३ करोड २१ लाख, ग्लोबल आईएमईले बैंकले १२ अर्ब ८९ करोड ८५ लाख, सिटिजन बैंकले छ अर्ब ७६ करोड १७ लाख र प्राइम कमर्सियलले ९ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ ।
त्यस्तै एनएमबीले दुई अर्ब ७८ करोड ६० लाख, प्रभु बैंकले पाँच अर्ब ८४ करोड छ लाख र सानिमा बैंकले दुई अर्ब ७५ करोड ७३ लाख रुपैयाँ शेयर धितो कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
Sponsored Advertisment