जेन-जी आन्दोलनको क्षतिमा साढे २० अर्ब माथिको बीमा दाबी, दि ओरिएन्टलमा सर्वाधिक 

जेन-जी आन्दोलनको क्षतिमा साढे २० अर्ब माथिको बीमा दाबी, दि ओरिएन्टलमा सर्वाधिक 

काठमाडौं : गत भदौं २३ गतेदेखि शुरु भएको जेन–जी आन्दोलनमा भएको क्षतिबाट साढे २० अर्ब रुपैयाँ भन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । आन्दोलनका क्रममा भएको निजी संरचनाको तोडफोड र आगजनीपछिको क्षतिले निर्जीवन बीमा कम्पनीहरु ठूलो संकटमा पर्ने देखिन्छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौं ३१ गतेसम्ममा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको एक हजार ९८४ वटा बीमा दाबी परेको हो ।

आन्दोलनमा भएको क्षतिमा सबै भन्दाबढी बीमा दाबी द ओरियण्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा देशभरबाट कुल पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँको ४० वटा दावी परेको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देशभरीबाट २५८ वटा दावी बापत चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ भने शिखर इन्स्योरेन्समा ३६६ वटा दावी बापत कुल दुई अर्ब ३९ करोड चार लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

प्राधिकरणका अनुसार जेन–जी आन्दोलनले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दावी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दावी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ प्रारम्भिक बीमा दावी परेको छ ।

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दावी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दावी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।

यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दावी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दावी बापत ४८ करोड ५१ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेकाे प्राधिकरणले जनाएको छ ।