काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकाङ्क गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् ।
मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ । स्रोतका अनुसार सेबोनले आज शनिबार नै सञ्चालक समितिको बैठक राखेर ६ महिनअघि लागू गरिएको उक्त निर्णय उल्टाउन लागेको हो ।
पछिल्ला दिनमा सेयर कारोरबामा निरन्तर ओरालो लागिरहेको छ । जेन जी आन्दोलनपछि बिहीबार खुलेको सेयर कारोबारमा तीनपटक नकरात्मक सर्किट लागेको थियो । सेयर कारोबार ओरालो लागेकै कारण लगानीकर्ता र ब्रोकरहरुले १५ मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए ।
धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा ६ महिनाका अघि चौथो संशोधन गरेर १५ मिनेटको औसत मूल्य गणनाको व्यवस्था गरिएको थियो । केही लगानीकर्ता र ब्रोकरहरूले उक्त संशोधनको विरोध गर्दै आएका थिए ।
मन्त्री खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले १५ मिनेट अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए । नेप्सेको सञ्चालक समितिले संशोधन प्रस्ताव पारित गरेर सेबोन पठाएपछि सेबोनले आज बैठक राखेको हो ।
सेबोन र नेप्सेका अधिकारीसहित केही लगानीकर्ताको मागअनुसार खराब वित्तीय अवस्था भएका लोक्याप कम्पनीको सेयर मूल्य घट्ने तर अन्तिम समयमा अस्वभाविक माग सिर्जना गर्ने प्रवृत्ति देखिएपछि १५ मिनेटको कारोबारलाई औसत गणना गरेर अन्तिम मूल्य कायम गर्ने व्यवस्था गरिएको थियो ।
६ महिनाअघिदेखि लागू भएको यो व्यवस्थाअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू गरेको थियो । ७ चैत २०८१ देखि कार्यान्वयनमा आएको थियो ।
जेन जी आन्दोलनपछि पहिलोपटक खुलेको बिहीबारको सेयर बजार १६० अंकको पहिरो गएपछि नेप्से सूचकांक गणनाको विधि हटाउन माग गर्दै केही लगानीकर्ताले सेबोन घेराउ गर्न पुगेका थिए । उनीहरूको माग जसरी पनि १५ मिनेटको उक्त व्यवस्था हटाउनुपर्ने भन्ने थियो । अर्थमन्त्री खनालले यसअघि नै निर्देशन दिइसकेका कारण लगानीकर्ताले थप दबाब बढाएको अनुमान गरिएको छ ।
पुँजीबजारको समस्या अध्ययन गर्न कार्यदल
जेन जी आन्दोलनपछि एक साता भन्दा बढी समय बन्द भएर बिहीबार खुलेको सेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारको समस्या अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।
अर्थमन्त्री खनालले मन्त्रीस्तरीय निर्णयमार्फत नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन शुक्रबार गरेका हुन् ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् । निरौलालाई कार्यदलको सदस्य सचिव तोकिएको छ ।
पुँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्ने गरी उक्त कार्यदल गठन गरिएको अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।
कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्ने कार्यादेश रहेको छ ।
Sponsored Advertisment