काठमाडौं : साझा यातायातले केवल ३ सय रुपैयाँमै काठमाडौंदेखि नारायणगढसम्मको बस सेवा उपलब्ध गराउने भएको छ ।
दसैँको अवसरमा यात्रुहरुको सहजतालाई ध्यानमा राखी साझाले दशै यात्रु साझा शटल सेवा सञ्चालन गर्न लागेको जनाएको छ । साझा यातायातकातर्फबाट प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सूचना जारी गरी यात्रुहरुलाई सहज, सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले नेपालीहरुको महान चाड वडा दशै २०८२ को शुभ अवसरमा दशै मनाउन आउने जाने यात्रुहरुको चापलाई समेत ध्यानमा राखी यही मिति २०८२ साल असोज ७ गते देखि कोजाग्रत पुर्णीमा सम्म दशै भरीका लागी काठमाण्डौंबाट नारायणगढ सम्म साझा यातायात बस सञ्चालन शुरु भएको जनाएका छन् ।
साझाले सूचनामा भनेको छ, 'पुल्चोक साझा यातयातबाट बस निस्कने र लगनखेल सातदोबाटो कोटेश्वर गौशाला चक्रपथ गोगँबु बसपार्क हुँदै कलंकीबाट बस प्रस्थान गर्नेछन् । कंलकीबाट बिहान ७ बजे देखि शुरु भई प्रत्येक १ घण्टाको अन्तरमा क्रमशः ८, ९, १०, ११ र १२ बजे यात्रुहरु लिएर नारायणगढका लागि बस प्रस्थान गर्नेछन् र त्यहाँबाट पुनः यात्रुहरु लिई काठमाण्डौं फर्कने छन् । यात्रा गरे वापत यात्रुहरुले एकतर्फी भाडा रु.३००( तिन सय मात्र) बुझाई अनिवार्य रुपमा साझा यातयातको टिकट लिनु पर्ने छ ।'
यसैगरी, साझाले सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाइने समेत सूचनामा जनाएको छ । यसैगरी, टिकट लिए नलिएको वा दिए र नदिएको विषयमा ठाँउठाँउमा अनुगमनको व्यवस्था गरिएको जनाएको छ भने टिकट नलिई यात्रा गर्नेहरुलाई प्रचलित नियम कानून बमोजिम कारवाही गरिने जनाएको छ । साझा यातायातको नियन्त्रण बाहिरको असहज परिस्थितिमा बस सेवा सञ्चालन हुन नसकेको खण्डमा भने साझा यातायात जवाफदेही नहुने सूचनामा उल्लेख छ ।
Advertisment