Below Menu
Below Menu

जेन-जी आन्दोलनको क्षतिपछि अर्थले भन्यो : ‘१० लाखमाथिको कारोबार विद्युतीय भुक्तानीमार्फत गरौँ’ 

जेन-जी आन्दोलनको क्षतिपछि अर्थले भन्यो : ‘१० लाखमाथिको कारोबार विद्युतीय भुक्तानीमार्फत गरौँ’ 

काठमाडौं : गत भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको घटनाप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्ने प्रवृत्तिको जोखिम उजागर गरेको छ र सबै नागरिकलाई विद्युतीय भुक्तानीमार्फत कारोबार गर्न हार्दिक अनुरोध गरेको छ ।

सरकारले अहिले सेवा वा वस्तुको खरिद–बिक्री तथा अन्य कारोबारहरू वित्तीय संस्था वा बैङ्किङ उपकरण मार्फत गर्ने गरी विद्युतीय कारोबारलाई निरन्तर प्रोत्साहित गरिरहेको छ ।

‘विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन,’ सूचनामा भनिएको छ । मन्त्रालयले सम्भव भएसम्म सबै कारोबारहरू विद्युतीय भुक्तानी मार्फत गर्न अपिल गरेको छ ।

मन्त्रालयले प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा नभएको स्पष्ट पारेको छ । यद्यपि, जारी सूचनामा भनिएको छ‘, तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्ति शुद्धीकरण–मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भईरहेको छ ।’ 

मन्त्रालयले उल्लेखित कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको खण्डमा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको जानकारी दिएको छ ।
मन्त्रालयले ठूला नगद कारोबार र विदेशी मुद्रा सञ्चयका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थाहरूको उल्लेख गरी ठूलो कारोबारमा बैङ्किङ अनिवार्य गर्न भनेको छ । 

जस अनुसार कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कारोबार गर्दा बैङ्किङ उपकरण मार्फत नै गर्नुपर्नेछ ।

नेपाल भित्र्याउने विदेशी मुद्राको सीमामा नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबर सम्म) भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ । 

त्यस्तै नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १,५०० (एक हजार पाँचसय) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको छ । 

उल्लिखित कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको समेत जनाएको छ । 

उल्लिखित कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको व्यहोरा जानकारी गराईन्छ।