बाढीका कारण माई खोला हाइड्रोपावरका दुवै आयोजना बन्द, विद्युत उत्पादन ठप्प

बाढीका कारण माई खोला हाइड्रोपावरका दुवै आयोजना बन्द, विद्युत उत्पादन ठप्प

काठमाडौं : अविरल वर्षा र माई खोलामा आएको बाढीका कारण माई जलविद्युत आयोजना (२२ मे.वा) र माई क्यास्केड जलविद्युत आयोजना (७ मे.वा) गरी दुवै आयोजनाको सञ्चालनमा गम्भीर अवरोध उत्पन्न भएको छ। 

बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि दुवै विद्युत गृहहरू बन्द भएका छन्।

आयोजना सञ्चालक सानिमा माई हाइड्रोपावरले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार मिति २०८२ असार १८ गते देखिको अविरल वर्षाका कारण क्षति पुगेको जानकारी दिएको छ।

कम्पनीका अनुसार बाढीको बहाव आजको दिनसम्म पनि नघटेकाले क्षतिको विस्तृत परीक्षण र मूल्याङ्कन गर्न सकिएको छैन। यही विशेष परिस्थितिका कारण दुवै आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको कम्पनीले जनाएको छ।

कम्पनीले क्षतिको आवश्यक अध्ययन तथा विश्लेषणका लागि प्राविधिज्ञहरू परिचालन गरिसकेको जनाएको छ। परिस्थिति सामान्य हुनासाथ क्षतिको मर्मत सम्भार कार्य तत्काल प्रारम्भ गरिने र आयोजनालाई यथाशीघ्र सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।

थप समाचार