काठमाडौं : दशैँको बिदापछि खुलेको पहिलो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द भएको हो । गत असोज १२ गते बिहिबार नेप्से ११.५१ अंकले बढेर २६६३.५१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनियन हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सेन्चुरी डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Sponsored Advertisment