काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । गत भदौंको महिनाको तुलनामा बैंकहरुको बेसरेट औषतमा ०.१२ प्रतिशत बिन्दुले घटेको छ ।
गत भदौमा ५.९५ प्रतिशत रहेको बैंकहरुको बेसरेट घटेर ५.८२ प्रतिशतमा झरेको छ । पछिल्लो केही महिनायता बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा छ । जसका कारण बैंकहरुको बेस रेट पनि घटेको हो ।
बैंकहरुको घट्दो बेस रेटकै कारण ऋणीलाई समेत राहत मिलेको छ । बेस रेट ब्याजदरसँग सम्वन्धित हुने हूँदा बेस रेट बढेको खण्डमा कर्जाको ब्याजदर पनि बढ्छ भने घटेको बेलामा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।
ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार बेस रेट (आधार दर) हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो ।
बैंकहरुको बेस रेट अनुसार नै ऋणको ब्याज महँगो अथवा सस्तो हुने संकेत गर्छ । यस्तो रेट कम भएका बैंकहरुले कम ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्नेछन । ऋणीले बेस रेट हेरेरै कर्जा लिनका लागि बैंक छनोट गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृतिअनुसार बेस रेटमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । जसका कारण अधिकांश बैंकहरूको आधारदर एकल अंकमा झरिसकेको छ । ब्याजदर निरन्तर रुपमा घटेपनि कर्जाको माग बढ्न सकेको छैन ।
कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण
बैंकहरुको रिर्पोट अनुसार यसअवधिमा सबैभन्दा कम आधारदर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको आधारदर जम्मा ४.६० प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ४.७२ प्रतिशत रहेको छ ।

यस्तै, एभरेष्ट बैंकको बेस रेट पनि ५.०५ प्रतिशत, नबिलको ५.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ५.७८ प्रतिशत, ग्लोबल आइएमईको ५.४९, सानिमाको ५.८६, सिद्धार्थको ६.०९, प्रभुको ६.१६, कृषि विकासको ५.५५ र एनएमबिको ६.०२ प्रतिशत रहेको छ ।
Advertisment