Below Menu
Below Menu

वैदेशिक सहायता निकासा सहज बनाउन नयाँ कार्यविधि: नगद र शोधभर्नाका लागि फरक मापदण्ड

वैदेशिक सहायता निकासा सहज बनाउन नयाँ कार्यविधि: नगद र शोधभर्नाका लागि फरक मापदण्ड

काठमाडौं : सरकारले ‘वैदेशिक सहायताको स्रोत फुकुवा सम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । वैदेशिक स्रोत समावेश भएको बजेट निकासा तथा फुकुवा प्रक्रियालाई सरल, सहज तथा एकरुपता कायम गर्न अर्थमन्त्रालयले यो कार्यविधि बनाएको हो । 

अर्थ मन्त्रालयबाट गत सोमबार स्वीकृत भएको कार्यविधि महालेखा नियन्त्रक कार्यालयले बिहिबार सार्वजनिक गरेको छ ।

उक्त कार्यविधि अनुसार वैदेशिक नगद अनुदान वा ऋण स्रोतको बजेट  फुकुवाका लागि सम्बन्धित आयोजनाबाट आफ्नो नाममा रहेको मौज्दात रकमको विवरणसहित महालेखा नियन्त्रक कार्यालयमा अनुरोध गर्नु पर्नेछ । 

साथै, वैदेशिक स्रोत अन्तर्गत नगद अनुदान वा ऋण समावेश भएका कार्यक्रमको प्रथम, दोस्रो, तेस्रो र चौथो त्रैमासिक अवधिको लागि विनियोजित बजेट भुक्तानी÷निकासा गर्न कार्यालयको फुकुवा आदेश आवश्यक पर्नेछ । 

कार्यालयको सम्बन्धित बैंक खातामा रकम जम्मा भएपछि मात्र नगद ऋण तथा नगद अनुदान स्रोतको बजेट फुकुवा हुने कार्यविधिमा उल्लेख छ ।

त्यसैगरी सम्बन्धित आयोजना÷कार्यक्रमको नाममा कार्यालयको खातामा रकम मौज्दात रहेको अवस्थामा उक्त रकमले खामेसम्म यस्तो स्रोतको बजेट फुकुवा गरिने उल्लेख छ । पहिलो र दोस्रो त्रैमासिक अवधिको विनियोजनको हकमा अर्थ मन्त्रालयको पत्रको आधारमा फूकुवा हुने बताइएको छ । 

कार्यविधिमा शोधभर्ना हुने अनुदान वा ऋण फुकुवाका लागि भने अर्थमन्त्रालयले छुट्टै प्रक्रिया तोकेको छ । कार्यविधिमा भनिएको छ, ‘वैदेशिक सहायताबाट संचालन भएका आयोजनाको स्रोत फुकुवाका लागि सम्बन्धित आयोजना समन्वय एकाई वा सम्बन्धित मन्त्रालय वा विभागबाट आयोजना ‘प्रोजेक्ट अकाउन्ट मोडेल) प्रणालीमा कार्यालयगत, बजेट उपशिर्षक नम्बर अनुसार दातृनिकाय तथा स्रोतको विवरण प्रविष्टि गरी फुकुवाको लागि पठाउनु गर्नुपर्नेछ ।’ 

त्यस्तो प्रणालीमा प्रविष्टि भएपछि कार्यालयले सोही प्रणालीबाट स्रोत फुकुवा गर्ने कार्यविधिमा उल्लेख छ । तर त्यस्तो प्रणालीमा फुकुवा नभएसम्म कुनैपनि त्रैमासिक अवधिको वैदेशिक सहायता समावेश भएका आयोजनाको स्रोत फुकुवा नहुने बताइएको छ ।

कार्यविधिअनुसार वैदेशिक स्रोत अन्तर्गत शोधभर्ना हुने अनुदान वा ऋण समावेश भएका कार्यक्रमको प्रथम र दोस्रो त्रैमासिक अवधिको लागि विनियोजित बजेट भुक्तानी/निकासा गर्न कार्यालयको फुकुवा आदेश आवश्यक पर्ने छैन । तर, सोको लागि चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म अनुदान वा ऋण सम्झौताको अवधि बाँकी रहेको हुनुपर्नेछ ।  

यस्तै, तेस्रो त्रैमासिक फुकुवाको लागि गत आर्थिक वर्षको शोधभर्ना हुन बाँकी रकम र चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्म शोधभर्ना हुने अनुदान वा ऋणबाट भएको खर्चसमेतको रकम शोधभर्ना प्राप्त भैसकेको हुनु पर्नेछ ।

यस्तै, चौथो त्रैमासिक फुकुवाको लागि थप आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म भएको खर्च रकमसमेतको शोधभर्ना प्राप्त भैसकेको हुनु पर्ने शर्त राखिएको छ । 

यस्तै, आयोजनाले दातृनिकाय समक्ष शोधभर्ना माग गरिसकेको तर प्रक्रियागत कारणले खर्च रकम शोधभर्ना हुन नसकेको अवस्थामा शोधभर्ना माग गरेको प्रमाण र चालु त्रैमासिक अवधि भित्र दातृनिकायबाट शोधभर्ना प्राप्त गरी सक्ने आयोजना प्रमुखबाट गरिएको प्रतिवद्धता पत्र समेत संलग्न गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । 

वैदेशिक स्रोत फूकुवाका लागि कार्यालयमा अनुरोध गर्दा सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट हुनुपर्नेछ । तर, विकास साझेदारसँग भएको सम्झौतामा लेखापरीक्षण भएको व्त्तिीय विवरण पेश गर्ने समावधिको विषयमा अन्य व्यवस्था भएको सोही अनुसार गर्नुपर्नेछ । 

सरकारले कार्यविधिबाट स्रोत फुकुवा नहुने अवस्था पनि तोकेको छ । कार्यविधि अनुसार कुनै आयोजनामा अनुदान र ऋण दुबै स्रोत कायम भई दातृ निकायको शोधभर्ना लिन बाँकी मध्ये ऋण तर्फ बढी प्राप्त भएको तर अनुदान तर्फ घटी प्राप्त भएको अवस्थमा उक्त दातृ निकायको ऋणतर्फको स्रोत फुकुवा गरिनेछ भने अनुदान तर्फको स्रोत फुकुवा हुने छैन । 
 

Advertisment

थप समाचार