काठमाडौं : गत असोज १७ र १८ गतेको भारी वर्षाका कारण माई खोलामा आएको बाढी र पहिरोले क्षति पुर्याएपछि बन्द भएका पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका दुवै आयोजनाहरूबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।
बाढीले दुवै आयोजनाका हेडवर्क्स र अन्य सिभिल संरचनाहरूमा गम्भीर क्षति पुर्याएको थियो, जसकारण मिति २०८२ असोज १८ गते बेलुका ९स्४५ बजेदेखि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
कम्पनीले क्षतिको मर्मत सम्भार कार्य द्रुत गतिमा सम्पन्न गरेपछि दुई चरणमा उत्पादन सुरु भएको जानकारी दिएको छ । माई–सी जलविद्युत आयोजना (५.१ मे.वा) को पावर हाउस र हेडवर्क्समा क्षति पुगेको थियो। मर्मतपछि २०८२ असोज २३ गते बिहान ९ः३५ बजेबाट प्लान्ट सञ्चालनमा आई विद्युत उत्पादन सुचारु भएको थियो।
अप्पर माई जलविद्युत आयोजना (९.९८ मे.वा) को हेडवर्क्स र सिभिल संरचनाहरूमा क्षति पुगेको थियो। मर्मत सम्भारपछि २०८२ असोज २६ गते बेलुकी ७ः५० बजे देखि प्लान्ट सञ्चालनमा आएर विद्युत उत्पादन सुचारु भएको छ।
यससँगै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाम जिल्लामा प्रवर्द्धन गरिएका दुवै आयोजनाहरूबाट विद्युत उत्पादन नियमित भएको छ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा ऊर्जा आपूर्तिलाई सहज बनाएको छ।
Advertisment