काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा सरकारको कुल खर्च साढे एक खर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.१८० अर्ब १७ करोड रहेको छ ।
यस अवधिमा चालु खर्च रु.११४ अर्ब १९ करोड, पुँजीगत खर्च रु.६ अर्ब ३५ करोड र वित्तीय व्यवस्था खर्च रु.५९ अर्ब ६३ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु. १५७ अर्ब ५३ करोड पुगेको छ ।
यसअन्तर्गत कर राजस्व रु.१५० अर्ब ४० करोड र गैरकर राजस्व रु.७ अर्ब १३ करोड परिचालन भएको छ ।
भदौ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२५५ अर्ब ६१ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात रु.१३० अर्ब ७३ करोड रहेको थियो ।
यस्तो छ देशको वर्तमान आर्थिक स्थिति
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु. २८८१ अर्ब ३५ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ४१ करोड पुगेको छ । यो सञ्चिति १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
- चालु खाता रु. १३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति रु. १५३ अर्ब ६८ करोडले बचतमा रहेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा ३३.१ प्रतिशतले र अमेरिकी डलरमा २७.६ प्रतिशतले बढेको छ । २०८२ भदौमहिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ ।
- निर्यात ८८.६ प्रतिशतले र आयात १६.२ प्रतिशतले बढेको छ ।
- नेपाल सरकारको खर्च रु.१८० अर्ब १७ करोड र राजस्व परिचालन रु.१५७ अर्ब ५३ करोड रहको छ ।
- विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.८ प्रतिशत रहेकोछ ।
- बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.१३ प्रतिशत रहेको छ ।
- वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.६६ प्रतिशत रहेको छ ।
Advertisment