Below Menu
Below Menu

दुई महिनामा वाणिज्य बैंकहरुले कमाए साढे १६ अर्ब नाफा, अर्ब क्लबमा छ बैंक 

दुई महिनामा वाणिज्य बैंकहरुले कमाए साढे १६ अर्ब नाफा, अर्ब क्लबमा छ बैंक 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै सवा १८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले १८ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब ३७ करोड रुपैयाँले कम हो । गत वर्षको भदौं मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा १९ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा १६ अर्ब ५९ करोड, विकास बैंकहरुको नाफा एक अर्ब ५० करोड र फाइनान्सहरुको नाफा २३ करोड रुपैयाँ रहेको छ ।

अर्ब क्लबमा छ वाणिज्य बैंक

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले भदौं मसान्तसम्म साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब १० करोड रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा बैंकहरुले १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । चालु आवको भदौं मसान्तसम्म बैंकले एक अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै यस अवधिमा नबिल बैंक एक अर्ब ३२ करोड ७१ लाख नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब २६ करोड ४० लाख रुपैयाँ र कुमारीले बैंकले एक अर्ब पाँच करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौं मसान्तसम्म प्राइम कमर्सियलले एक अर्ब चार करोड करोड ६७ लाख, एनएमबि बैंकले एक अर्ब तीन करोड नौं लाख रुपैयाँ नाफा कमाएको छ । 

अन्य बैंकहरुको नाफा 

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म नेपाल बैंकले ८४ करोड २८ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ र सानिमा बैंकले ३९ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी स्ट्याण्डर्ड चार्टडर्डले ५३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले ३७ करोड सात लाख रुपैयाँ, नेपाल एसबिआईले ३५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । 

चालु आवको दुई महिनामा एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ४९ करोड ५१ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

यस अवधिमा लक्ष्मी सनराइजले ९७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ भने सिद्धार्थ बैंकले ८४ एक करोड ९० लाख र कृषि विकास बैंकले ५८ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् । 

राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म सिटिजन इन्टरनेशनल बैंकले ५५ करोड ७६ लाख, प्रभु बैंकले ६७ करोड ६० लाख र सानिमा बैंकले ७२ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

Advertisment

थप समाचार