काठमाडौं : नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका साथै पूर्वाधार विकास बैंकहरूको लागि महत्त्वपूर्ण निर्देशन जारी गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त हुन नसकेको ब्याज रकमलाई लिएर राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ।
निर्देशनअनुसार, २०८२ कात्तिक १५ गतेसम्म प्राप्त नभएको ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर, कर्मचारी बोनस, साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरिएको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ।
यस व्यवस्थाले वित्तीय संस्थाहरूको वास्तविक आम्दानीको चित्रण र जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकले बैंकमा पठाउनुपर्ने मासिक तथा त्रैमासिक विवरणहरू र प्रकाशन गर्नुपर्ने आन्तरिक वित्तीय प्रतिवेदनको समय अवधि पनि थप गरेको छ।
आव २०८२/८३ को पहिलो त्रयमासको हकमा यी विवरणहरू बैंकमा पठाउन एवं अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नको लागि २०८२ कात्तिक २१ गतेसम्म समयावधि थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।
Advertisment