Below Menu
Below Menu

साढे ७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७४ प्रतिशत कायम 

साढे ७४ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सीडी रेसियो ७४ प्रतिशत कायम 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ७४ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो । 

गत असोज २९ गतेका दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई अर्बले बढेको हो । अघिल्लो दिन अर्थात् असोज २८ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थामा ७४ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा तीन अर्ब रुपैयाँ निक्षेप थपिएको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ६६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ६७ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा दुई अर्ब निक्षेप थपिँदा दुई अर्ब रुपैयाँ नै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५६ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५० खर्ब नौ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ सिडि रेसियो बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७४.६६ बिन्दुमा झरेको छ । 

Advertisment

थप समाचार