Below Menu
Below Menu

साढे चार खर्बको आयात हुँदा ८९ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा करिब चार खर्ब ! 

साढे चार खर्बको आयात हुँदा ८९ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा करिब चार खर्ब ! 

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १९.७९ प्रतिशत र निर्यात ८९.६४ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले तीन खर्ब ९५ अर्ब ३० करोड पाँच लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ । असोज मसातसम्म नेपालले पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा चार खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

साढे चार खर्बको आयात, निर्यात ८९ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । तीन महिनामा साढे चार खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे ७२ अर्बमाथिको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

विश्लेषकहरूका अनुसार चाडबाडको सिजनका कारण उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र इलेक्ट्रोनिक सामानहरूको माग बढ्दा आयातमा वृद्धि भएको हो भने कृषिजन्य र उत्पादनमूलक वस्तुको निर्यातले व्यापार सन्तुलनमा आंशिक सुधार ल्याएको छ ।
 

Advertisment

थप समाचार