काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको प्रयोग गर्दा उपभोक्ताहरूलाई सर्त र नियमहरू राम्ररी बुझ्न र जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ।
बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड एक सुविधाजनक र सुरक्षित भुक्तानी उपकरण भए तापनि लापरबाही गर्दा यसले उच्च ब्याज र आर्थिक बोझ निम्त्याउन सक्ने चेतावनी दिएको छ।
क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने एक विद्युतीय भुक्तानी उपकरण हो। यसको प्रयोग गरी वस्तु तथा सेवाको भुक्तानी गर्न र तोकिएको सीमासम्म नगद निकाल्न समेत सकिन्छ।
राष्ट्र बैंकका अनुसार, क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा कुनै ब्याज वा अतिरिक्त शुल्क लाग्दैन। तर, यदि समयसीमाभित्र भुक्तानी गरिएन भने उच्च दरमा ब्याज र हर्जाना (विलम्ब शुल्क) लाग्न सक्छ, जसले ग्राहकको आर्थिक बोझ बढाउँछ।
राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्नुअघि ग्राहकले अनिवार्य रूपमा क्रेडिट सीमा, शुल्क तथा ब्याजदर, बिल तयार हुने मिति र भुक्तानी गर्नुपर्ने समयसीमा र समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्क र ब्याज लगायतका कुरामा ध्यान दिनुपर्ने बताएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क्रेडिट कार्ड सजग ग्राहकको पहिचान हो’ भन्ने नाराका साथ सबै उपभोक्ताहरूलाई क्रेडिट कार्डका सर्तहरू राम्ररी बुझेर मात्र जिम्मेवारीपूर्वक प्रयोग गर्न र आफ्नो वित्तीय अनुशासन कायम राख्न आह्वान गरेको छ।
Advertisment