मकवानपुर : बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा हाल न त मेयर मीनाकुमारी लामा छन्, न त उपमेयर राजेश बानिया नै सक्रिय देखिन्छन् । यद्यपि कार्यालय खुलेको भए पनि सेवा प्रवाह अत्यन्त अस्तव्यस्त बनेको स्थानीयले गुनासो गरेका छन् ।
नगरपालिकाको कर शाखा लगायतका कार्यालयहरू खुला त देखिन्छन् तर काम भने ठप्पजस्तै रहेको जनगुनासो छ । केही कर्मचारी आफ्नो मोबाइल चलाउन व्यस्त छन् भने अरू चिया–गफमै समय बिताइरहेका देखिन्छन् । कर तिर्न वा अन्य कामका लागि कार्यालय पुगेका सर्वसाधारणले लामो प्रतीक्षा गर्नुपरेको र कुनै पनि जिम्मेवार व्यक्ति उपलब्ध नहुँदा असन्तुष्टि जनाएका छन् ।
स्थानीयको भनाइमा, ‘नगरपालिकाले सेवा दिने जिम्मा लिए पनि नेतृत्व अभावमा सबै प्रक्रिया ढिलो भइरहेका छन् । न त समयमै काम हुन्छ, न त उत्तरदायी कोही भेटिन्छ ।’
जनताको करबाट सञ्चालन हुँदै आएको हेटौडा उपमहानगरपालिकाले जनगुनासो सम्बोधन गर्न तथा सबै अभिलेख र सेवा प्रक्रियालाई पारदर्शी बनाउन तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।
Advertisment