Below Menu
Below Menu

वित्तीय पोस्ट् प्रभाव : सहकारीको रकम हिनामिनाको आरोपमा प्रभु समूहका अध्यक्ष भट्टचन पक्राउ

वित्तीय पोस्ट् प्रभाव : सहकारीको रकम हिनामिनाको आरोपमा प्रभु समूहका अध्यक्ष भट्टचन पक्राउ

काठमाडौं : नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । प्रमू समूहका अध्यक्ष समेत रहेका भट्टचनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर समेतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्त शिव कुमार श्रेष्ठका अनुसार भट्टचनलाई ललितपुरको गोदावरी न.पा. ३ बाट पक्राउ परेका हुन्। उनी प्रभु मनि ट्रान्सफर प्रा.लि.को समेत अध्यक्ष हुन् ।

भट्टचनलाई प्रभु मेनेजमेन्ट प्रालिमार्फत सहकारीको रकम हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन्।

प्रभु मेनेजमेन्टले देशभरका करिब ३ हजार सहकारीको भुक्तानी गरेको बिप्रेषण बापतको रकम र धरौटी रकम करोडौं भुक्तानी गरेको छैन । कम्पनीले सम्पूर्ण सेवाहरु बन्द गरी सहकारी संस्थालाई दिनुपर्ने रकम भुक्तानी नगर्दा सहकारी संस्थाहरु पिडित बन्न पुगेका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ती

ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी गरी बसेका पूर्व सभासद तथा प्रभु मनि ट्रान्सफर प्रा.लि.को अध्यक्ष (प्रभु ग्रुपका सञ्चालक) देवी प्रकाश भट्टचन समेतले रेमिट कारोबार गर्ने लाइसेन्स नेपाल राष्ट्र बैंक मार्फत् प्रभु मनि ट्रान्सफर प्रा.लि. ले प्राप्त गरी सो मार्फत् विदेशमा बसेका नेपालीहरुले नेपालका  विकट गाउँहरुमा आफ्ना आफन्तलाई सहज रुपमा नजिकैको स्थान विशेषबाट छरिएका सहकारी मार्फत्  विप्रेषण बापतको रकम भुक्तानी गराउनको लागि मिति २०६९/०९/०१ गते प्रभु म्यानेजमेन्ट प्रा.लि. र प्रभु मनि ट्रान्फर प्रा.लि. बीचको करार सम्झौता हुँदाका बखत दुवै कम्पनीका मुख्य सञ्चालक निज कसूरदार देवी प्रकाश भट्टचन रहेको, प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई सुपर एजेण्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट प्रा.लि. का तर्फबाट तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत् विप्रेषणको कारोबार गर्ने सम्झौता गरेकोमा नेपाल राष्ट्र बैङ्क विप्रेषण विनियमावली, २०७९ मिति २०७९/१०/१३ गते जारी भई प्रचलनमा आएको र उक्त विनियमावलीको बुँदा नं. ९ मा कम्पनीले भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफैं वा आफूद्वारा नियुक्त सब–एजेण्ट वा सब–रिप्रेजेन्टेटिभ मार्फत सम्बन्धित व्यक्ति (Beneficiary) लाई भुक्तानी गर्नु पर्नेछ भन्ने व्यवस्थाको विपरीत कार्य जारी राखी प्रभु म्यानेजमेन्ट प्रा.लि. को सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्ति (Beneficiary) लाई विप्रेषण बापतको रकम भुक्तानी गरेको तर प्रभु मनि ट्रान्फर प्रा.लि. का अध्यक्ष देवी प्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रा.लि. बाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको  भनी देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट परेको उजुरी सम्बन्धमा अनुसन्धान भई निज देवि प्रकाश भट्टचनका नाउँमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको हुँदा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।११ गते ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ टौकेलबाट वर्ष अ. ६२ का देवी प्रकाश भट्टचन (ना.प्र.नं.३१४, ललितपुर ) लाई कानुनबमोजिम पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको । 
                                                                                                                                                  
 

Follow Up News

Advertisment

थप समाचार