झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेका वन अधिकृत श्रेष्ठविरुद्ध मुद्दा, पत्नी र बुहारी समेत प्रतिवादी

झण्डै डेढ करोड अकूत सम्पत्ति आर्जन गरेका वन अधिकृत श्रेष्ठविरुद्ध मुद्दा, पत्नी र बुहारी समेत प्रतिवादी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलामका तत्कालीन डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) दान बहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ दशलमव ५२ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ।

अख्तियारका अनुसार, २०४८ असार २५ मा नियुक्त भई २०८० फागुन १८ गतेसम्मको जाँच अवधिमा श्रेष्ठ र उनको एकाघर परिवारको वैधानिक आय जम्मा दुई करोड १६ लाख ८५ हजार ५५७ दशलमव ९६ रुपैयाँ देखिएको छ। तर, सोही अवधिमा निजको कुल व्यय जग्गा खरिद, घर निर्माण, शेयर खरिद लगायत विभिन्न शीर्षकमा जम्मा तीन करोड ६० लाख चार हजार ४९५ दशलमव ४८ रुपैयाँ रहेको पाइएको छ।

यसरी हेर्दा वैध आयको तुलनामा निजले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसाले बढी खर्च गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । 

प्रतिवादी श्रेष्ठलाई एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसाले बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवाना गर्ने अख्तियारले जनाएको छ । 

यसका साथै गैरकानूनी रूपमा आर्जन गरेको एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा मूल्य बराबरको सम्पत्ति जफत गर्ने समेत अख्तियारको भनाई छ । वार्षिक सम्पत्ति विवरण फारममा सम्पत्ति लुकाएको र झुठ्ठा विवरण पेस गरेको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाएको सम्पत्ति जफत गर्ने आयोगले भनाई छ । 

श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट लगानी गरिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि निजकी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र बुहारी सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि, भक्तपुरलाई समेत प्रतिवादी कायम गरिएको छ।