काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीहरुले ४९ अर्बमाथिको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ३८ हजार २७३ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
असोज मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १६ लाख ७४ हजार ६८१ बीमालेख बिक्री गरी १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ५८ हजार ७९८ बीमालेख जारी गरी पाँच अर्ब ६८ करोड ४७ लाख ६९ हजार रुपैयाँको व्यापार गरेको छ भने सूर्यज्योति लाइफले दुई अर्ब ८८ करोड १० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९२ हजार ८०१ बीमालेख जारी गरी चार अर्ब ९८ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले चार अर्ब ४३ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ९३ हजार २२९ बीमालेख जारी गरी चार अर्ब ५३ करोड २२ लाख ८८ हजार रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले एक अर्ब ६६ करोड ४२ लाख ६४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै एशियन लाइफले दुई अर्ब २६ करोड ९६ लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले एक अर्ब ५१ करोड ५४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले एक अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले एक अर्ब ४५ करोड ६६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
चालु आवको तीन महिनामा सन नेपाल लाइफले ९५ करोड ७२ लाख ५९ हजार र प्रभु महालक्ष्मी लाइफले एक अर्ब ४० करोड छ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार साढे २४ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । असोज मसान्तसम्म कम्पनीहरुले २० लाख १५ हजार ४२० बीमालेख जारी गरी २४ करोड ७४ लाख ९४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले आठ करोड ९२ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले आठ करोड ६२ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले सात करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
चालु आवको तीन महिनामा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २४ लाख ५५ हजार ४४२ बीमालेख जारी गरी ८९ करोड ५ लाख २६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
Advertisment