काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकहरूको नाफा घटेको छ। आर्थिक मन्दी, व्यवसायिक गतिविधिमा कमी र ऋण असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूको आम्दानी संकुचित बनेको हो।
कुल २० वाणिज्य बैंकमध्ये ५ बैंकको नाफा बढेको छ भने १५ बैंकको नाफा घटेको छ।
यस अवधिमा वाणिज्य बैंकहरुको नाफा १८.७७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड ८७ लाख रुपैयाँ बराबर नाफा कमाएको बैंकहरुले चालु आवमा १३ अर्ब १४ करोड ९६ लाखमा सीमित भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा बढी नाफा घटाउने बैंकको सूचीमा कृषि विकास बैंक शीर्ष स्थानमा छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९७ प्रतिशतले घटेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशतले कमी आएको छ।
त्यसैबीच, यस अवधिमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। यसको नाफा अघिल्लो वर्षको तुलनामा २९५.७० प्रतिशतले वृद्धि भएको छ।
पछिल्ला वर्षहरूमा अर्थतन्त्रमा देखिएका चुनौतीहरूका साथै केही महत्वपूर्ण घटनाक्रमले बैंकहरूको नाफामा गिरावट ल्याएको हो । आर्थिक मन्दीको प्रभावसँगै जेनजी आन्दोलनले व्यवसायिक वातावरणलाई थप प्रभावित गरेका कारण बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरु बताउाछन् ।
अन्तरिम सरकारले गरेका केही निर्णयका कारण धेरै व्यवसाय अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। यसै कारण बैंकहरूलाई ऋणको सावा र ब्याज असुलीमा कठिनाइ भई नाफामा कमी आएको हो।

Advertisment