विश्वव्यापी रुपमा बढ्दै गइरहेको व्यापारिक उत्तारचढाव, जलवायु परिवर्तन, जनसंख्या वृद्धि, खाद्य उपभोगमा आएको विविधिकरण लगायतका कारण कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य र पोषण सुरक्षा कायम गर्नु वैश्विक चिन्ताको विषय बनेको छ ।
मुख्यतः औद्योगिक विकासक्रम र आधुनिक मानव जीवनशैली संगै भइरहेको कार्वन उत्सर्जनले विभिन्न प्राकृतिक प्रकोप, रोगकिराको फैलावट, सुख्खापन इत्यादिको कारण कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिमा नकारात्मक असर पुर्याएको छ । भारत र चीन जस्ता धेरै औद्योगिक विकास र जनसंख्या भएका देशहरुको बीचमा रहेको नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर पर्न गएको छ भने कृषिमा प्रविधि र बजार पहूँचको दृष्टिकोणबाट लाभ लिन सक्ने अवसरहरु रहेका छन् ।
नेपाल जस्तो हावापानी, माटो, भूगोल लगायतका विविधता भएको देश कृषि क्षेत्रको विकासको दृष्टिकोणबाट अत्यन्तै सुन्दर देश हो । कृषि क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा करिब २४ प्रतिशत योगदान दिएको छ र ६० प्रतिशत भन्दा धेरै नागरिकहरुको जीविकोपार्जनको आधार बनेको छ ।
कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउँदै सम्मानित, दिगो र नाफामूलक पेशाको रुपमा कृषिलाई विकास गर्नु आजको प्रमुख आवश्यकता हो । नेपाल सरकार र मातहतका निकायहरुले युवाहरुलाई कृषि व्यवसायमा आकर्षित गर्ने नीतिनियम र सहुलियतका कार्यक्रमहरु कार्यान्वय गर्ने र निजी क्षेत्रले उत्पादक तथा उपभोक्ताहरुलाई जोड्न कृषि मूल्य श्रृंखला विकास सम्बन्धी संरचनाहरु जस्तैः कोल्ड चेन, वेयरहाउस, प्रशोधन उद्योग, बजार केन्द्र इत्यादीको स्थापना र संचालनमा लगानी गरेमा हजारौं युवाहरुलाई घरेलु, साना तथा मझौला उद्यमीको रुपमा विकास गर्न सकिन्छ भने लाखौं युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।
राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिलाई आत्मसात् गर्दै कम्पनीले सार्वजनिक, निजी र सहकारीको साझेदारीको अवधारणामा आफ्ना गतिविधिहरु अगाडि बढाएको छ । संघीय सरकारले बलियो नियमनको भूमिका निर्वाह गर्ने, प्रदेश सरकारहरुले ठूला उद्योगहरु संचालनमा सहजिकरण गर्ने र ग्रामीण पालिकाहरु उत्पादनमा तथा शहरी पालिकाहरु वितरण प्रणाली विकासमा सक्रिय हुने नीतिगत व्यवस्था तथा कार्यान्वयन गरी यस कम्पनीले अगाडि सारेको अवधारणा र कार्ययोजना सञ्चालन गर्न सकेमा समग्र कृषि क्षेत्रको विकास हुन सक्दछ भन्ने विभिन्न उदाहरणहरुबाट पुष्टि भइसकेको छ ।
उल्लिखित वृहत अवधारणा र सोचलाई कार्यनीतिमा बदल्दै व्यवसायिक लक्ष्यहरु हासिल गर्न कम्पनीले ५ वर्षे रणनीतिक योजना बनाई दोश्रो वर्षसम्म सन्तोषजनक कार्यान्वयन गरी सकेको छ । रणनीतिक योजनामा नै आधारित भई वार्षिक नीति तथा कार्यक्रमहरु र बजेटलाई सञ्चालक समितिले पारित गरी कार्यान्वयन गर्ने अभ्यास भइरहेको छ ।
कृषिमा लगानी गर्दा प्रतिफल प्राप्त हुन्छ/हुँदैन भन्ने द्विविधा भइरहेको अवस्थामा आ.व. २०८१/८२ को संचित मुनाफाबाट कम्पनीले लाभांश वितरणको प्रस्ताव साधारण सभामा पेश गर्न सफल भएको छ । यसले हाम्रो कम्पनीलाई मात्रै नभई समग्र कृषि क्षेत्रमा निजी क्षेत्रको संस्थागत लगानी आकर्षित गर्न कोसेढुङ्गा सावित हुनेछ भन्ने विश्वास गरेको छु ।
(कम्पनीको ७औं वार्षिक साधारण सभामा अध्यक्ष काफ्लेले राखेको मन्तव्य ।)
Advertisment