काठमाडौं : सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
उनको अनुसार नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय पनि भएको छ । त्यस्तै उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
१. एमसिए–नेपालले निर्माण गर्ने ४०० के.भि. विद्युत प्रसारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने।
२. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।
३. भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३० औं पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने।
४. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
५. जग्गा धनी श्याम प्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको कार्यालय रहेको जग्गाको क्षतिपूर्ति वापत एक करोड रुपियाँ उपलब्ध गराउने।
६. २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने ।
७. २०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया कोर्डिनेशन मिटिङको ९औं बैठकमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक श्री राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
८. नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई बढुवा गर्ने।
९. भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
१०. साविक रेशम खेती विकास कार्यक्रम धनकुटाको नाममा दर्ता रहेको धनकुटा नगरपालिका वडा नं. ७ स्थित जम्मा २५ रोपनी ५ आना तीन पैसा जग्गा प्रादेशिकरवार, सञ्चार तथा सूचना प्रविधि दिने।
११. २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने।
१२. नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने।
१३.नेपाली सेनाद्वारा सञ्चालन हुने तालिमहरूको सहयोगार्थ नेपाली सेना र अफिस अफ डिफेन्स कोअपरेसन, युएस एम्बेस्सीबिच सम्पन्न भएको समझदारीपत्रको अवधि दुईवर्ष थप गर्न स्वीकृति दिने।
१४. २०८२ मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने आईएईए स्कुल अन न्युक्लियर एण्ड र्याडियोलोजीकल लिडरसिप फर सेफ्टी एण्ड न्युक्लियर सेक्युरिटी कार्यक्रममा सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने।
१५. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्ड, काठमाडौँ, गेटा अस्पताल, धनगढी, कैलाली; सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके, डडेल्धुरा अस्पताल, डडेल्धुरा र कान्ति बाल अस्पताल, काठमाडौंको आ.व. ०८२÷८३ का लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने।
१६. स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौँ तह) डा. टंक प्रसाद बारकोटीले दिनु भएको राजीनामा स्वीकृत गर्ने।
१७. मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मधेस प्रदेशको प्रमुखमा नियुक्ति गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
Advertisment