काठमाडौं : लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका उद्योगहरूबाट नेपाल विद्युत प्राधिकरणको बक्यौता असुली अभियानले ठोस परिणाम देखाउन थालेको छ ।
प्राधिकरणका अनुसार लाइन काटिएका २५ मध्ये हालसम्म २१ वटा उद्योगले महसुलको पहिलो किस्ता बुझाएका छन् । ती उद्योगहरूको कुल चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ असुल भएको छ ।
लाइन काटिएका उद्योगमध्ये पहिलो किस्तामा सर्वाधिक भुक्तानी गर्नेमा जगदम्बा स्टिल रहेको छ । कम्पनीले पहिलो किस्तामा सबैभन्दा बढी पाँच करोड ७२ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतका ठूला उद्योगहरूले पनि पहिलो किस्ता तिरेका छन् । बक्यौता रकम असुलीलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । सोही सुविधाअनुसार उद्योगहरूले बाँकी रकम किस्तामा तिर्ने सहमति जनाएका छन् ।
प्राधिकरणले असुली प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन उद्योग क्षेत्रसँग निरन्तर समन्वय गरिरहेको बताएको छ । बक्यौता असुलीमा सकारात्मक प्रगति देखिएसँगै प्राधिकरणले बाँकी उद्योगहरूलाई पनि तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । प्राधिकरणले आउँदो महिना दोस्रो किस्ता तिर्ने तयारी गर्न उद्योगहरूलाई समयसीमा तोकेको छ ।
राजनीतिक हस्तक्षेपपछि पनि सफलता
बक्यौता असुलीको विषयमा प्रतिक्रिया दिँदै ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनसम्मत रूपमा चालिएका कदमहरूमा राजनीतिक तहबाट हस्तक्षेपका कारण अवरोध सिर्जना भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए ।’
तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारीका कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको उनको भनाइ छ । मन्त्री घिसिङले विषम परिस्थितिमा देशप्रतिको दायित्व बोधका साथ किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीहरूलाई धन्यवाद समेत दिएका छन्।
Advertisment